चामुण्डाबिन्द्रासैनीको १६औँ नगरसभा सम्पन्न

चामुण्डाबिन्द्रासैनीको १६औँ नगरसभा सम्पन्न

काठमाडौँ -   दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको १६औँ नगरसभा एवं नगर अधिवेशन सम्पन्न भएको छ। हिउँदे अधिवेशनका रूपमा गत माघ १२ गते विधिवत रूपमा उद्घाटन भएको नगरसभा विविध छलफल र प्रक्रिया पूरा गर्दै दोस्रो बैठकमार्फत् समापन गरिएको हो।

यसपटकको नगरसभा नगरपालिकामा लामो समयदेखिको गतिरोध अन्त्य गर्दै १५औँ नगरसभाबाट पारित बजेटमा संशोधन गर्दै नयाँ योजनाहरूमा थप बजेट विनियोजन गर्ने निर्णयसहित सम्पन्न भएको छ। नगरपालिकाले विनियोजन विधेयक पारित गर्दै नगरबासीका आवश्यकता सम्बोधन गर्न प्रतिबद्धता जनाएको छ।

नगरसभामा बोल्दै सदस्यहरूले नगरबासीका हितमा आवश्यक नीति निर्माण र बजेट व्यवस्था गर्न जोड दिएका थिए । उनीहरूले नगरविकासलाई तीव्र गतिमा अगाडि बढाउन सबै पक्षको हातेमालो अनिवार्य रहेको बताएका थिए ।

नगरपालिका उपप्रमुख मनसरा कुमारी शर्माले कार्यपालिकाको निर्णयअनुसार नगरगौरवका योजनाहरूका लागि बजेट प्रस्तुत गर्नुभएको थियो । उहाँले नगरपालिका स्तरबाट आवश्यकता पहिचान गरी योजनाहरूको प्रभावकारी कार्यान्वयनमा ध्यान केन्द्रित गरिएको जानकारी दिनुभयो ।

नगरपालिका प्रमुख गणेश कुमार शाहीले विगतमा नगरभित्र भएका झिनामसिना विवाद र अवरोधप्रति असन्तोष व्यक्त गर्दै आगामी दिनमा सबै जनप्रतिनिधिहरू विकासका सवालमा एकजुट हुने प्रतिबद्धता जनाउनुभयो । उहाँले नगरपालिकाको नारा अनुसार सर्वांगीण विकासमा केन्द्रित भएर काम गर्ने सहमतिका साथ नगरसभा सम्पन्न भएको बताउनुभयो ।

नगरसभाको सञ्चालन चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले गर्नुभएको थियो । कार्यक्रमले नगरपालिकाका जनप्रतिनिधिहरूबीच सहकार्यको भावना अभिवृद्धि गर्दै नगरबासीका समस्या समाधानमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरेको छ।

१६औँ नगरसभाले बजेट संशोधनसहित नयाँ योजना कार्यान्वयनको निर्णय गर्दै नगरपालिकाको विकास र जनताको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने आधार तयार गरेको छ।

प्रतिक्रिया