शंसोधित बजेट र युवा नीतिसँगै अघि बढ्छौँ : मेयर रिजाल

शंसोधित बजेट र युवा नीतिसँगै अघि बढ्छौँ : मेयर रिजाल

काठमाडौँ - दैलेखको दुल्लु नगरपालिकाको १६औँ नगरसभा एवं नगरअधिवेशन एक औपचारिक कार्यक्रमका बीच सम्पन्न भएको छ।

नगरप्रमुख भरत प्रसाद रिजालले उद्घाटन गर्नुभएको उक्त नगरसभाले आर्थिक विनियोजन ऐन, युवा नीति, सामाजिक विकास समिति प्रतिवेदन, लेखा प्रतिवेदन र भौतिक पूर्वाधार प्रतिवेदनसहितका विभिन्न विधेयकहरूलाई वृहत छलफलपछि पारित गरेको छ।

'शंसोधित बजेट र युवा नीतिसँगै अगाडि बढ्ने '

नगरसभाको समापन कार्यक्रममा बोल्दै नगरप्रमुख रिजालले संशोधित बजेटले दुल्लु नगरपालिकाका महत्त्वपूर्ण योजना कार्यान्वयनको मार्ग प्रशस्त गरेको उल्लेख गर्नुभयो। “युवा जागरणका लागि पारित युवा नीति नगरपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउनको लागि विद्येयक पारित गर्नुका साथै दुल्लु अस्पताललाई प्रदेश मातहतमा लिने काम भएको  छ,” मेयर रिजालले बताउनुभयो ।

नगरसभामा उप-प्रमुख बिना कार्कीले आर्थिक विनियोजन ऐन र कार्यपालिकाबाट संशोधित महत्त्वपूर्ण योजनाको बजेट प्रस्तुत गर्नुभयो । उहाँले नगरपालिकाको प्राथमिकताका क्षेत्रमा बजेट विनियोजन गर्दै अघि बढ्न नगरसभाको सहमति अपरिहार्य रहेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत तिलक विकले नगरसभामा खर्च नहुने योजनाहरूलाई संशोधनमार्फत अघि बढाइएको बताउनुभयो । “विभिन्न ऐन र विधेयक पारित गर्दै नगरपालिका योजनाहरूलाई व्यवस्थित बनाउने प्रयास गरिएको छ,” उहाँले भन्नुभयो ।

नगरसभाले युवा नीति, ओएनएम नीति, र अन्य विधेयकहरू पारित गर्नुका साथै नगर विकासका लागि महत्त्वपूर्ण योजनामा बजेट थप्न सहमति दिएको छ। साथै, नगरपालिकाले जनप्रतिनिधिहरू र कर्मचारीबीच सहकार्य गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

नगरपालिकाको हिउँदे अधिवेशनका रूपमा सम्पन्न यो नगरसभाले नगरबासीका आकांक्षा पूरा गर्नका लागि स्पष्ट खाका प्रस्तुत गरेको छ। सभाको उद्घाटनदेखि समापनसम्म दुल्लु नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको सक्रियताले कार्यक्रमलाई सफल बनाएको बताइएको छ ।

प्रतिक्रिया