सीपमूलक तालिमले बद्लिँदै डाडागाउँका महिलाको जीवनशैली
काठमाडौँ – “पहिले त पात टिपेर पनि पैसा कमाउन सकिन्छ भन्ने सोचेकै थिइनँ,” घोराही उपमहानगरपालिका–१२ डाडागाउँकी पुष्पा चौधरी भन्नुहुन्छ। तर, आज पुष्पा र उहाँको समूहका महिला दुना–टपरी बनाएर आत्मनिर्भर बन्ने बाटोमा अघि बढ्दैछन् ।
डाडागाउँका सात जना महिलाहरुको समूहले सालको पातबाट दुना–टपरी बनाउने सीपमूलक तालिम लिएपछि उनीहरूको जीवनशैली परिवर्तन भएको छ। घरायसी काममै सीमित महिलाहरू अहिले व्यवसायिक रूपमा सक्रिय छन् ।
३० वर्षीया मानकुमारी चौधरी भन्नुहुन्छ, “पहिला पनि पनि प्राय घरमै सीमित थिएँ । अहिले दुना–टपरी बनाउँदै बजारमा बेचेर परिवारका लागि आवश्यकताहरू पूरा गर्न सकेकी छु।”
२६ वर्षीया सुशीला चौधरीले पनि तालिमपछि आत्मनिर्भर बन्ने बाटो समात्नुभयो । “पहिले त मेसिनबाट दुना–टपरी कसरी बन्छ भनेर थाहा थिएन,” उहाँ भन्नुहुन्छ, “तालिमपछि आफैंले बनाउँदा खुसी लाग्छ।”
सोसेक नेपालले महिलाहरूलाई मेसिनद्वारा दुना–टपरी बनाउने तालिम प्रदान गरेपछि उनीहरूको उद्यमी हुने इच्छा पुरा भएको हो । संस्थाले मेसिन राख्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सहयोग गर्दै, गत भदौदेखि समूहले उत्पादन थालनी गरेको उद्यमशिल दुना-टपरी महिला समूहका अध्यक्ष पुष्पा चौधरी बताउँनुहुन्छ ।
डाडा गाउँका पुष्पा र मानकुमारी चौधरी जस्तै उद्यमशिल दुना टपरी महिला समूहका सदस्य सुशीला चौधरीले पनि स्थानीय स्रोतहरूको सदुपयोग गर्दै आफ्नो आम्दानीको स्रोत बनाउन हुनुहुन्छ । उहाँले घर नजिकै रहेको खजुरी सामुदायिक वनबाट संकलित पात प्रयोग गर्दै दुना–टपरी बनाएर भदौयता मात्र दुई हजार दुना–टपरी बिक्री गरेर १० देखि १५ हजारसम्म आम्दानी गरेको बताउनुभयो ।
‘मेहनत गरे अनुसार राम्रै आम्दानी गर्न सकिँदोरहेछ,’ उहाँले भन्नुभयो, ‘पहिले आफुसँग सीप नभएकै कारण प्राय दिनहरू घरमै बसेरै बित्थ्यो। कतै काम खोजौँ भने आफुसँग सीप थिएन जस्ले गर्दा काममा कसैले राख्दैन थिए । तर, तालिम लिएपछि भने दुना–टपरी बनाएर आम्दानी गर्न थालेकी छु, जसले गर्दा घरव्यवहार चलाउन सहज भएको छ ।’
पुष्पा र शुशीलासँगै समूहका अन्य सदस्यहरूले पनि समूहमा बसेर दुना टपरी उत्पादन गर्दै आर्थिक उपार्जन गर्दै आइरहेको सोसेक नेपालद्वारा संचालित ग्रीन इकोनमिक एक्सलेरेटर परियोजना संयोजक दोर्ण जिसीले बताउनुभयो ।
‘आर्थिक रूपमा पिछडिएका, केही गरौँ भन्ने सोच भएका महिलाहरूलाई छनोट गरी सीपमूलक तालिम दिएका थियौँ, अहिले उहाँहरुले राम्रै मेहनत गर्दै आउनुभएको छ,’ जिसीले भन्नुभयो ।
उहाँका अनुसार ७ जना महिलालाई पुनः ३ दिने दुना–टपरी बनाउने तालिम प्राप्त गरेपछि, संस्थाले उनीहरूको वृहत व्यवसायिक योजनालाई प्रोत्साहन गर्दै २ लाख ५५ हजार रुपैयाँको लागतमा हाईड्रोलिक मेशिन उपलब्ध गराएको थियो ।
व्यक्तिगत उत्पादन र सामुहिक वजारीकरण अवधारणा अनुसार उद्यमी महिलाहरुलेआफू अनुकुल अनुसार दुना टपरी उत्पादन गर्दै फुर्सदको समयलाई सदुपयोग गर्दै दुना टपरी उत्पादन गर्दै आएको समुहका अध्यक्ष पुष्पा चौधरीले बताउनुभयो । समूहले प्रती चाट दुना १.५० र मम दुना रु.५ को २ वटा र टपरी प्रति गोटा ८ रुपैँयामा बेच्ने गरेको समूहले जनाएको छ ।
त्यस्तै समूहले तीन वटा ड्राईवाट टपरी, चाट दुना, मःम तथा चाउमिन दुना उत्पादन गरि स्थानिय वजारमा विक्री गर्दै आएको छ । उक्त समूहलाई नेपालगन्ज र बुटवलका क्षेत्रीय बजारहरुमा समेत दुना टपरीको बजारिकरण प्रवद्र्धनका लागि संस्थाले अवलोकन समेत गराएको थियो ।
दाङको गढवा गाउँपालिकामा महिला समुहले संञ्चालन गरेको दुना टपरी उद्योगमा समेत अनुभव आदान प्रदान कार्यक्रम गरिएको संयोजक जिसी बताउँनुहन्छ । ग्रीन इकोनमिक एक्सलेरेटर परियोजना संयोजक दोर्ण जिसीका अनुसार, निर्माण गरिएका दुना टपरी स्थानीय बजारमा खपत भइरहेको छ । तर, स्थानीय बजारको मागअनुसार समूहले हालसम्म पु¥याउन सकेको छैन ।
घोराही उपमहानगरपालिकाकीउपप्रमुख हुमा डिसीले महिलाहरूलाई आत्मनिर्भर बनाउने प्रयासमा स्थानीय तहको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । यस्तै उद्योगहरुलाई प्रोत्साहन गर्न उपमहानगरपालिका उपप्रमुख डिसीले ४० माइक्रोन भन्दा कमका प्लाष्टिक निषेध गर्ने नीति ल्याएको उहाँको भनाई रहेको छ ।
‘हामीले केही समयअघि मात्र ४० माइक्रोनभन्दा कम मोटाइ भएका प्लास्टिक सामग्रीलाई निषेध गर्ने नीति लागू गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा यस्ता वातावरणमैत्री उद्योगलाई थप प्रोत्साहन र टेवा पुग्नेछ ।’
पहिले अधिकांश समय घरायसी काममा र धेरैजसो फुर्सदिला बनेका डाडागाउँका महिलाहरुका लागि दुनाटपरी तालिमले आत्मनिर्भर हुन सिकाएको छ । तालिमपश्चात् भवन र समूहलाई मेसिन समेत उपलब्ध गराएपछि डाडागाउँका महिलाहरुले धमाधम दुनाटपरी निर्माण गर्दै आएको जि.सीले जानकारी दिनुभयो ।
ग्रीन इकोनमिक एक्सलेरेटर परियोजना
हाल घोराही उपमहानगरपालिका १२ मा आइमसुइडि डेवलपमेन्ट पार्टनर र मुक्तकमलरी विकास मञ्च दाङको सहकार्यमा, सोसेक नेपालको प्राविधिक साझेदारीमा ग्रीन इकोनमिक एक्सलेटर परियोजना मार्फत संचालन गरिएको पाँच दिने तालिमपश्चात् उनीहरुमा यस्तो परिर्वतन आएको हो ।
आ.एम, स्विडिस डेभलपमेन्ट पार्टनर को साझेदारमा मुक्त कमलरी, कुसुण्डा समुदाय, दलित जनजाति उत्थानशिल जीविकोपार्जनको माध्यमबाट गरिवी न्यूनिकरण तथा वातावरण संरक्षणमा टेवा पुर्याउने उद्धेश्यका साथ सोसेक नेपालले दाङ्ग, सल्यान र कपिलवस्तु जिल्लामा ग्रीन इकोनमिक एक्सलेरेटर परियोजना संचालन गर्दै आएको छ । यो परियोजना विगत १ वर्ष देखि संञ्चालन हुँदै आएको संयोजक जिसीले बताउनुभयो ।
जिसीका अनुसार जिल्ला साझेदार संस्था मुक्त कमलरी विकास मञ्चको सामाजिक परिचालनमा दाङको घोराही उपमहानगरपालिका वडा न. - २ र १२ वडाका लक्षित २६ जना संम्भावित उद्यमी छनोट गरि ५ दिने उद्यमशिलता तालिम प्रदान गरेको थियो । गत श्रावण महिनामा संञ्चालन गररएकोमा २६ जना सहभागी मध्ये ७ जना महिलाहरुले दुना-टपरी उद्यम संञ्चालन गरेर दुना-टपरी उत्पादन गर्दै आएका छन् ।
सपना देख्ने महिलाहरू
सपना देख्न र त्यसलाई पुरा गर्नका लागि दुनाटपरी निर्माण सम्बन्धि ५ दिने उद्यमशिलता तालिम लिए । उनीहरूका लागि त्यही तालिम सारथी बन्यो, सोसेक नेपाल, जसको सहयोगबाट सामूहिक श्रम र साझेदारीले दुना-टपरी उद्योगको सृजनामा ढोका खोलेको पुष्पा चौधरी बताउँनुहुन्छ ।
पुष्पा भन्नुहुन्छ, ‘मैले कहिल्यै सोचेको थिइन कि मसँग यस्तो अवसर आउँछ भनेर । आज मैले घरायसी काम सँगसँगै दुना टपरी मेसिन चलाउन सक्छु ।’
वन केही टाढा भएकाले पात संकलनमा समस्या भए पनि डाडागाउँका महिला उद्यमीहरू सामूहिक श्रम र समय व्यवस्थापन गर्दै दुना–टपरी निर्माणलाई नियमित रूपमा अघि बढाइरहेका छन्। उद्यमी मनकुमारी चौधरीले घरको फुर्सदिलो समयलाई सदुपयोग गरेर आम्दानी बढाउन सहज भएको बताउनुभयो।
'दुना–टपरी बनाउने मात्र होइन, घरको काम पनि सँगसँगै गर्नुपर्छ,; उद्यमी समूहकी सदस्य लक्ष्मी चौधरीले भन्नुभयो । तर, खाली बस्नुभन्दा केही आम्दानी भएको छ, र यसले हामीलाई खुशी बनाएको छ।;
महिला उद्यमी समूहमा अध्यक्ष पुष्पा चौधरीको नेतृत्वमा कवारी चौधरी, मनकुमारी चौधरी, लक्ष्मी चौधरी, सुशीला चौधरी, रमिता चौधरी, र कमला चौधरी गरी सात जना सदस्य छन्।
महिला उद्यमी समूहमा अध्यक्ष पुष्पाका श्रीमान, जो पहिले बैदेशिक रोजगारमा जानुभएको थियो, पछि नेपाल फर्किएर पुष्पासँगै पात टिप्न र दुना टपरी उत्पादनमा मद्दत गर्दै आउनुभएको छ । समाजमा महिलाको भूमिकाको नयाँ परिभाषा पेश गर्दै यी महिलाहरू अब स्वतंत्रता र आत्मसम्मानको साथ आधुनिक व्यापार तर्फ अघि बढ्दै गएका छन् ।
‘पहिला हामी कुनै काम गर्न सक्दैनौं भन्ने सोच्थ्यौं, अब हामी सशक्त र स्वतंत्र छौं,’ समूहकी सदस्य मान कुमारी चौधरीले भन्नुभयो ।
डाडागाउँका महिला उद्यमीहरूले उत्पादन गरेको दुना–टपरी घोराही, तुलसीपुर, र नारायणपुर जस्ता स्थानीय बजारहरू पुग्ने गरेका छन् । विशेषगरी चाट र मःमका लागि उपयोगी हुने भएकाले पसलहरूबाट यसको माग भइरहेको र माग अनुसार पुर्याउन नसकिएको समूहका सदस्य लक्ष्मी चौधरीले बताउनुभयो।
'हामीले चाट र मःमका लागि धेरै दुना उत्पादन गरिरहेका छौं', उद्यमी समूहकी सदस्य चौधरीले भननुभयो ।
प्राकृतिक स्रोतको उपयोग
स्थानीयस्तरमा प्राकृतिक स्रोतहरूको सदुपयोग गर्दै दुनाटपरी उद्योग संचालन भएसँगै आर्थिक र सामाजिक रूपान्तरणको माध्यम बनेको छ।
दाङ, सल्यान, र कपिलवस्तु जस्ता जिल्लामा सोसेक नेपालद्वारा सञ्चालित ग्रीन इकोनमिक एक्सलेरेटर परियोजनाले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन, गरिबी घटाउन, र वातावरण संरक्षण गर्न महत्त्वपूर्ण योगदान दिएको संयोजक जिसीको भनाई छ ।
दुनाटपरी जैविक, सजिलै नष्ट हुने, र वातावरणमैत्री विकल्प हो । यसले बातावरणलाई समेत सहयोग गर्नेछ । प्लास्टिकका थाली र कपहरूको सट्टा वातावरणमैत्री दुनाटपरीको उपयोग गर्दा वातावरणमा प्लास्टिक फोहोर कम समेत कम हुने जिसी बताउँनुहुन्छ ।
स्थानीय स्तरमा भएको सामाग्री उपयोग गर्दा बातावरणमैत्री हुने महिलाहरूलाई वन व्यवस्थापनमा जिम्मेवार समेत बनाउने छ । वन व्यवस्थापनमा यहाँका नागरिकलाई जिम्मेवार बनाउँदै वन स्रोतहरूको दिगो उपयोग गर्ने सीप सिकाउने कामले वनको दीर्घकालीन संरक्षणमा समेत टेवा पुग्नेछ ।
दुनाटपरी उद्योगले जलवायु परिवर्तनमा योगदान, वन संरक्षण र कार्बन शोषण प्रक्रियामा सहयोग पुग्ने, हरित उद्यमशीलता प्रवर्द्धन, समाजिक र आर्थिक प्रभाव रुपमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया