कालिकोटमा निःशुल्क क्षयरोग परीक्षण शिविर, ६ जनामा संक्रमण पुष्टि

कालिकोटमा निःशुल्क क्षयरोग परीक्षण शिविर, ६ जनामा संक्रमण पुष्टि

काठमाडौँ -  कालिकोटको खाँडाचक्र नगरपालिकामा तीन दिने निःशुल्क क्षयरोग परीक्षण शिविर सम्पन्न भएको छ।

सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा निर्देशनालयको सहयोग र खाँडाचक्र नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजनामा सञ्चालन गरिएको यस शिविरमा ६०८ जनाको क्षयरोग परीक्षण गरिएको थियो। परीक्षणका क्रममा छ जनामा क्षयरोगको संक्रमण पुष्टि भएको छ।

नगरपालिकाले तीन दिनसम्म सञ्चालन गरेको शिविरमा प्रारम्भिक चरणमा २८६ जना शङ्कास्पद बिरामी पहिचान गरिएको थियो। तीमध्ये १८६ जनाको पुनः परीक्षण गरिएको थियो, जसमा छ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयरोग तथा कुष्ठरोग सम्पर्क व्यक्ति पदम केसीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “शङ्कास्पद बिरामीहरूको खकार पुनः परीक्षण जिल्ला अस्पतालमा रहेको ‘जेनस्पोर्ट’ उपकरणबाट गरिएको हो।”

थप १०० शङ्कास्पद बिरामीको पुनः परीक्षण अझै बाँकी रहेको जनाइएको छ। ती बिरामीहरूको पनि जिल्ला अस्पतालकै ‘जेनस्पोर्ट’ उपकरणबाट परीक्षण गरिने खाँडाचक्र नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखाका क्षयरोग निवारण संयोजक पुष्पराज पाण्डेले बताउनुभयो। “सङ्क्रमण पुष्टि भएका बिरामीहरूलाई तत्काल औषधि सेवन सुरु गरिएको छ,” उहाँले थप जानकारी दिनुभयो।

क्षयरोग परीक्षण दर न्यून

जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार कालिकोटमा वार्षिक रूपमा तीन सय जनाको क्षयरोग परीक्षण हुनुपर्नेमा हाल एक सयको हाराहारीमा मात्र परीक्षण हुँदै आएको छ। 

यसले नियमित परीक्षणको अभाव र पहुँचका समस्याहरू औंल्याएको छ। हालै सम्पन्न निःशुल्क शिविरले यस क्षेत्रमा क्षयरोग पहिचान र उपचारको आवश्यकता अझै ठूलो रहेको स्पष्ट पारेको छ।

प्रतिक्रिया