परम्परागत सीप परीक्षणका लागि नमूना परियोजना सञ्चालन

परम्परागत सीप परीक्षणका लागि नमूना परियोजना सञ्चालन

काठमाडौँ -  कर्णाली प्रदेशको सुर्खेतको सिम्ता गाउँपालिका र कालीकोटको खाँडाचक्र नगरपालिकामा परम्परागत सीप परीक्षण गर्न तथा अनौपचारिक शिक्षाको राष्ट्रिय योग्यता प्रारुपलाई स्थानीयकरण गर्न नमूना परियोजना सञ्चालन गरिने भएको छ। यस परियोजनाले स्थानीयवासीहरूले आर्जन गरेका परम्परागत तथा रैथाने सीपलाई औपचारिक प्रमाणीकरण गर्न महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीका अनुसार प्रदेशभरका सबै स्थानीय तहबाट परम्परागत सीप परीक्षण गर्ने तयारी भइरहेको छ। मन्त्री भण्डारीले  सुर्खेतको वीरेन्द्रनगरमा आयोजित “अनौपचारिक शिक्षाको राष्ट्रिय योग्यता प्रारुपलाई स्थानीयकरण गर्न प्रदेश तथा स्थानीय तहको क्षमता विकास कार्यशाला”को उद्घाटन गर्दै परम्परागत सीप परीक्षण तथा प्रमाणीकरणको महत्वबारे चर्चा गर्नुभयो। उहाँले परम्परागत ज्ञान, सीप र अभ्यासलाई आधुनिक सन्दर्भमा व्यवस्थित र मान्यता प्रदान गर्न यस्तो परियोजना अपरिहार्य रहेको बताउनुभयो।

नमूना परियोजनाले पुराना वास्तुकला, गहना, मूर्तिकला,, काष्ठकला, तथा अन्य रैथाने र परम्परागत सीपलाई प्रमाणीकरण गर्न सहयोग गर्नेछ। यस प्रक्रियाबाट यस्ता सीपको संरक्षण र प्रयोगलाई औपचारिकता प्रदान गरिनेछ। परियोजनाले सामाजिक विकास इकाइ, उद्यमशीलता शाखा र रोजगारी शाखाबीच समन्वय गरेर प्रमाणीकरण प्रक्रिया अघि बढाउनेछ । 

प्रमाणीकरणपछि स्थानीयवासीले आर्जन गरेका सीपलाई जुनसुकै निकायमा प्रस्तुत गर्न योग्य प्रमाणपत्र प्राप्त हुनेछ। यसले उनीहरूको रोजगारीका अवसरमा वृद्धि ल्याउनुका साथै क्षमता विकास र उद्यमशीलतालाई प्रोत्साहन दिनेछ। साथै, अनौपचारिक शिक्षाको राष्ट्रिय योग्यता प्रारुपलाई स्थानीय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न मद्दत पुग्नेछ।

कर्णाली प्रदेश सरकार, समाज जागरण केन्द्र नेपाल सुर्खेतको समन्वयमा सञ्चालन हुने यो परियोजना परम्परागत सीपलाई आधुनिक प्रविधिसँग जोड्दै स्थानीय अर्थतन्त्रलाई सबल बनाउने दिशामा महत्वपूर्ण कदम साबित हुने बताइएको छ ।


 

प्रतिक्रिया