रास्वपा सभापति रवि लामिछाने ६५ लाख धरौटीमा रिहा
काठमाडौँ - कास्की जिल्ला अदालतले सहकारी ठगीको आरोप लागेका रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
न्यायाधीश नितिज राईको इजलासले बिहीवार लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । पोखरामा रहेको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगेर दुरूपयोग अभियोग रविमाथि छ ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछाने गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक हुन् । सहकारी ठगीको अनुसन्धानका शिलशिलामा लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
सम्पत्ति शुद्धीकरण मुद्दा समेत दायर गरिएपछि लामिछाने पुस १४ गते सांसद पदबाट निलम्बनमा परेका थिए । सहकारी ठगी र सम्पत्ति शुद्धीकरण समेत ३१ करोड २६ लाख मागदाबीसहित लामिछानेविरुद्ध अभियोजन गरिएको थियो ।
रविसँगै गोरखा मिडियाका तत्कालीन सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई पनि धरौटीमा रिहा गर्न आदेश भएको छ । लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी सम्बन्धमा काठमाडौं जिल्ला अदालतमा समेत मुद्दा दायर भइसकेको छ ।
बुटवलको सुप्रिम सहकारी, वीरगञ्जको सानो पाइला र चितवनको सहारा सहकारी ठगी सम्बन्धमा प्रहरीले लामिछानेसँग बयान लिइसकेको छ ।
प्रतिक्रिया