गुराँसमा लैङ्गिक पहिचान र यौन विशेषता सम्बन्धी अभिमुखीकरण कार्यक्रम

गुराँसमा लैङ्गिक पहिचान र यौन विशेषता सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँ -  दैलेखको गुराँस गाउँपालिकामा लैङ्गिक पहिचान, प्रस्तुति, र यौन विशेषता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।  सोसेक नेपाल र  सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित 'लैङ्गिक तथा यौनिक अल्पसंख्यक बालबालिका र युवाको अधिकार संरक्षण तथा समावेशीता प्रवर्द्धन' परियोजना अन्तर्गत उक्त अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । 

बिहीवार गुराँस गाउँपालिका - ५, गोगनपानीस्थित पार्वती माध्यामिक विद्यालयमा यौन अभिमुखीकरण, लैङ्गिक पहिचान, प्रस्तुति, र यौन विशेषता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ४७ जनाको सहभागिता रहेको थियो, जसमा २ जना शिक्षक र ४५ जना बालबालिकाहरू सहभागी थिए । कार्यक्रमको अध्यक्षता बाल क्लबका उपाध्यक्ष आकृती बस्नेतले गर्नुभएको थियो भने सहजीकरण परियोजना संयोजक प्रभा डाँगीले गर्नुभएको थियो ।

यस कार्यक्रमले बालबालिकाहरूलाई यौन अभिमुखीकरण, लैङ्गिक पहिचान, प्रस्तुति, र यौन विशेषता सम्बन्धी आधारभूत ज्ञान प्रदान गर्ने लक्ष्य राखेको परियोजना संयोजक प्रभा डाँगीले बताउनुभयो ।

साथै, अभिमुखीकरण कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसंख्यक अधिकार, उनीहरूको चुनौती र विद्यालयको भूमिका सम्बन्धी जानकारी पनि दिइएको  थियो ।

बालबालिकाहरूले पाठ्यपुस्तकमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको विषयलाई समेटिए पनि अस्पष्ट रहेको प्रतिक्रिया दिएका छन्। यस कार्यक्रमले उक्त विषयलाई स्पष्ट पार्न सहयोग पुगेको उनीहरूको भनाई थियो । 

पार्वती माध्यामिक विद्यालयका शिक्षक तथा भूतपूर्व प्रधानाध्यापक नगेन्द्र बहादुर शाहीले लैङ्गिक तथा यौनिक अल्पसंख्यक बालबालिकाको सवालमा विद्यालय सकारात्मक रहेको बताउनुभएको छ ।  विद्यालय सुधार योजना र आचार संहितामा यस विषयलाई समेटेका छौँ', उहाँले भन्नुभयो,  'एक जना लैङ्गिक अल्पसंख्यक विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराएका छौँ । विद्यार्थीको व्यवहार र पहिचानलाई स्वीकार गर्दै अन्य विद्यार्थीहरूलाई पनि सचेत गराएका छौँ ।'

बाल क्लबले बालबालिकाको हितका लागि विद्यालय सरसफाइ, प्लास्टिकमुक्त विद्यालय अभियान, वृक्षारोपण, भर्ना अभियान, चेतनामूलक कार्यक्रम, बाल विवाह न्यूनिकरण, र लैङ्गिक तथा यौनिक अल्पसंख्यक सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। क्लबले वार्षिक कार्ययोजना समेत तयार पारेर यस्ता गतिविधि सञ्चालन गर्ने जानकारी दिएको छ।

गुराँस गाउँपालिका स्तरीय बाल सञ्जाल अध्यक्ष नानु सुनारले विद्यालयका अन्य कक्षाहरूमा खाली समयमा लैङ्गिक र यौनिक अल्पसंख्यकसम्बन्धी ज्ञान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले बाल क्लबले भेदभाव रोक्न सचेतना फैलाउँदै आएको र नियमित छलफलको व्यवस्था मिलाइएको पनि नानुको भनाई छ ।

प्रतिक्रिया