ठाटीकाँधका कृषकलाई कृषिसम्बन्धी एकदिने स्थलगत तालिम संचालन

ठाटीकाँधका कृषकलाई कृषिसम्बन्धी एकदिने स्थलगत तालिम संचालन

ठाटीकाँध -  दैलेखको ठाटीकाँध गाउँपालिकामा कृषकलाई कृषिसम्बन्धी एकदिने स्थलगत तालिम संचालन गरिएको छ । ठाटीकाँध गाउँपालिका - ३ मा ठाटीकाँध गाउँपालिका कृषि विकास शाखाको आयोजना सोसेक नेपालद्वारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाको सहजीकरणमा एकदिने स्थलगत तालिम संचालन गरिएको हो  ।

स्थलगत तालिममा कृषकहरूले आफ्नो बारीमा गएर तरकारी अनुगमन र फलफूल काँटछाँट सम्बन्धी प्रशिक्षण प्राप्त गरेका थिए । सहकार्य परियोजनामा कार्यरत कृषि प्राबिधिक भुपेन्द्र सिजापतिका अनुसार ३ नम्बर वडामा कृषककै बारीमा गएर सुन्तला जातको फलफूल काँटछाँट र तरकारीको अनुगमन गरिएको थियो ।

स्थलगत तालिममा ठाटीकाँध गाउँपालिका ३ का वडा अध्यक्ष भरत बम र ठाटीकाँध गाउँपालिका कृषि शाखा प्रमुख अभिषेक बिष्ट लगायतका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।  तालिममा ३२ जना कृषक सहभागी भएका थिए, जसले एकअर्काको बारीमा गएर तरकारी उत्पादन लगायत विभिन्न प्राविधिक उपायहरूबारे पनि अवलोकन गरेका थिए ।

तालिमपछि आफू निकै उत्साहित भएको र यसरी स्थलगत तालिम पाउनुलाई एकदमै सकारात्मक र प्रभावकारी अनुभव भएको कृषक मान कुमारी शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, 'पहिले हामीलाई यस्तो तालिम हाम्रो गाउँमा नआएको थियो, अहिले पालिका र सोसेकको कर्मचारी आएर स्थलगत तालिम दिएकोमा हामी धेरै खुशी छौं ।'

सोही वडाका कृषक इन्द्र बहादुर बोगटीले सोसेक नेपाल र ठाटीकाँध गाउँपालिकाले यसरी स्थलगत रुपमा गरिएको तालिम  प्रभावकारी र सकारात्मक भएकोमा खुशी व्यक्त गर्नुभयो ।

स्थलगत तालिमको क्रममा सहकार्य परियोजनामा कार्यरत कृषि प्राविधिक भुपेन्द्र सिजापतिले बोडो पेस्ट बनाउने, तरकारी काटछाँट गर्ने र फलफूल काँटछाँट गर्ने विभिन्न तरिकाहरूबारे जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया