लैङ्गिक तथा यौनिक अल्पसंख्यकसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
गुराँस (सानाकाँडा) - लैङ्गिक तथा यौनिक अल्पसंख्यक बालबालिका र युवाहरूको अधिकार संरक्षण र समावेशितालाई प्रवर्द्धन गर्ने उद्देश्यले कृष्ण मावि, गुराँस गाउँपालिका ५ सानाकाँडामा विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सोसेक नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित 'लैङ्गिक तथा यौनिक अल्पसंख्यक बालबालिका र युवाहरूको अधिकार संरक्षण र समावेशिता प्रवर्द्धन' परियोजना अन्तर्गत आयोजना भएको हो।
कार्यक्रममा करिब ७० जना बालबालिकाको सहभागिता रहेको थियो। कार्यक्रममा यौन अभिमुखीकरण, लैङ्गिक पहिचान, प्रस्तुति, र यौन विशेषतासम्बन्धी विषयमा गहन छलफल र प्रशिक्षण गरिएको थियो । महिला समलिङ्गी, पुरुष समलिङ्गी, द्विलिङ्गी, ट्रान्सजेण्डर महिला, पुरुष, अन्तरलिङ्गी, र क्वियर समुदायका बारेमा सहभागीहरूलाई विस्तृत जानकारी दिइएको थियो।
उक्त कार्यक्रमको अध्यक्षता प्रगतिशील बाल क्लब, कृष्ण माविका अध्यक्ष रामबहादुर शाहीले गर्नुभएको थियो । उहाँले बालबालिकाको अधिकारको संरक्षण र प्रवर्द्धनका लागि शिक्षक, अभिभावक, र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो । साथै, स्थानीय सरकारलाई बाल क्लबको क्षमता विकास, बाल अधिकार संरक्षण, बाल विवाह न्यूनीकरण, र लैङ्गिक तथा यौनिक अल्पसंख्यकसम्बन्धी चेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्न आग्रह गनुृभयो ।
विद्यालयका प्रधानाध्यापक सुरेन्द्र कुमार चन्दले विद्यालयमा समावेशीता बढाउन र लैङ्गिक तथा यौनिक अल्पसंख्यक बालबालिकाका लागि सुरक्षित वातावरण सिर्जना गर्न छात्रवृत्तिको व्यवस्था गर्न सकिने बताउनुभयो । उहाँले अभिमुखीकरणले शिक्षकहरूलाई पाठ्यक्रममा भएका विषयलाई स्पष्ट रूपमा बुझाउन मद्दत पुगेको भन्दै यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
अभिमुखीकरण कार्यक्रमले शिक्षक र बालबालिकामा लैङ्गिक तथा यौनिक अल्पसंख्यकसम्बन्धी विषयमा ज्ञान अभिवृद्धि गरेको छ। सहभागीहरूले विद्यालयमा हुने भेदभाव, दुव्र्यवहार, र घृणालाई न्यूनीकरण गर्न प्रतिबद्धता व्यक्त गरेका छन् । बाल क्लबले आफ्नो आगामी कार्ययोजनामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक बालबालिकाका लागि चेतनामूलक कार्यक्रमहरूलाई समेट्ने र विद्यालयमा उनीहरूलाई सुरक्षित वातावरण सिर्जना गर्न सहकार्य गर्ने निर्णय गरेको छ।
यस प्रकारका अभिमुखीकरण कार्यक्रमले विद्यालयमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक बालबालिकाले सुरक्षित र सम्मानजनक वातावरण महशुस गर्न सहयोग पुर्याएको छ। सहभागीहरूको सकारात्मक प्रतिक्रिया र प्रतिबद्धताले भविष्यमा सामाजिक स्वीकार बढाउँदै भेदभावरहित समाज निर्माणमा योगदान पुर्याउने विश्वास गरिएको छ।
प्रतिक्रिया