राउटे समुदायमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

राउटे समुदायमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ -  लोपोन्मुख सिमान्तकृत जाति राउटे समुदायको स्वास्थ्य सुधारका लागि विशेष स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। वीरेन्द्रनगर नगरपालिका -  २ स्थित गिरीघाट खोला किनारमा अस्थायी बसोवास गरिरहेको राउटे बस्तीमा आयोजित शिविरमा १०४ जना राउटेले स्वास्थ्य सेवा लिएका थिए ।

हर्ट नेपाल र नविल बैंकको सहकार्यमा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा शिविर आयोजना गरिएको हो । कर्णाली प्रदेश अस्पताल सुर्खेतका वरिष्ठ सर्जन डा. सुजन सापकोटाको नेतृत्वमा चारजना विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेका थिए ।

डा. सापकोटाका अनुसार अधिकांश राउटेमा चिसोका कारण रुघा, खोकी, शारीरिक चोटपटक, तथा अव्यवस्थित खानपानका कारण उच्च रक्तचाप लगायतका स्वास्थ्य समस्या देखिएका छन् । यी समस्या पुरुषमा बढी देखिए पनि महिलाहरूमा पाठेघरसम्बन्धी समस्या रहेको बताइएको छ । यद्यपि, महिलाहरूले स्वास्थ्य परीक्षण गर्न खासै रुचि देखाएनन्।

शिविरमा राउटे समुदायबाहेक ३६ जना अन्य स्थानीयले पनि निःशुल्क स्वास्थ्य सेवा लिएका छन्। हाल राउटे समुदायको जनसंख्या १३४ मा सीमित रहेको छ। अव्यवस्थित खानपान र अस्वस्थ जीवनशैलीका कारण यो संख्या घट्दै गएको छ। समुदायमा गरिएका स्वास्थ्य शिविरले समुदायको स्वास्थ्यमा सकारात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया