किसानको खेतबारीको माटो परीक्षण गर्न कृषि मिनी ल्याब स्थापना
काठमाडौँ - सल्यानको कपुरकोट गाउँपालिकामा कृषि मिनी ल्याब स्थापना गरिएको छ। किसानको खेतबारीको माटो परीक्षण गर्न र रोग किराको पहिचान गर्न सहायक हुने गरी ल्याब सञ्चालनमा ल्याइएको हो। गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीका अनुसार यो मिनी ल्याबले किसानलाई माटोको अवस्थाबारे जानकारी दिनुका साथै उर्वराशक्ति बढाउन आवश्यक परामर्श प्रदान गर्नेछ ।
कृषि मिनी ल्याब सञ्चालनमा आएपछि किसानहरूले आफ्नो खेतबारीको माटोअनुसार उचित खेती प्रणाली अपनाउन सक्नेछन् । यसअघि जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेर अब कपुरकोटमै माटो परीक्षण र रोग किराको पहिचान सहज भएको छ। ल्याबमा डिजिटल प्रविधिको प्रयोग गरेर परीक्षण गरिने भएकाले यो सेवा छिटो, भरपर्दो र प्रभावकारी हुने विश्वास लिइएको छ।
पालिकाभित्रका किसानहरूले माटो परीक्षण र रोग किराको पहिचान निःशुल्क गर्न सक्नेछन् भने पालिकाबाहिरका किसानहरूले न्यून शुल्कमा यो सेवा प्राप्त गर्न सक्नेछन्। साथै, किसानका गुनासो सुन्न र परामर्श दिनको लागि कृषक परामर्श केन्द्र समेत सञ्चालनमा ल्याइएको छ। परामर्श केन्द्रमार्फत किसानहरूले रोग किराको उपचार विधि र विषादीको प्रभावकारी प्रयोगबारे जानकारी पाउनेछन्।
कृषि उपज बजार सञ्चालक समिति अध्यक्ष तिलक शर्माका अनुसार, पछिल्लो समय माटोमा अत्यधिक रासायनिक मल र विषादीको प्रयोगका कारण उर्वराशक्ति घट्दै गएको र नयाँ प्रकारका रोग तथा किराहरू देखा परेको पाइएको छ। यस समस्यालाई समाधान गर्न कृषि क्षेत्र विकास कार्यक्रम (एएसडिपी) को सहयोगमा मिनी ल्याब स्थापना गरिएको हो।
किसानहरूको उत्पादनशीलता र कृषि प्रविधिमा पहुँच वृद्धि गर्न यस पहलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। कपुरकोट गाउँपालिका ले यस क्षेत्रमा कृषि क्षेत्रको दिगो विकास र किसानहरूको जीवनस्तर उकास्न यो कदम चालेको हो।
प्रतिक्रिया