महत्वपूर्ण योजनाहरूको पहिचान र छनोट गर्न सर्वपक्षीय भेला
काठमाडौँ - दैलेखको दुल्लु नगरपालिका वडा नं १२ ले सर्वपक्षीय भेला आयोजना गर्दै वडाभित्रका महत्वपूर्ण योजनाहरू संकलन गर्न अग्रसर भएको छ । वडाध्यक्ष लिलाराम लम्सालको अध्यक्षतामा आयोजित यस भेलामा जनप्रतिनिधिहरू, व्यापारी, बुद्धिजीवी, शिक्षक, सरकारी कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
भेलाको प्रमुख उद्देश्य वडाभित्रका हरेक टोलका अति आवश्यक र महत्वपूर्ण योजनाहरूको पहिचान र छनोट गर्नु रहेको थियो । वडाबाट छनोट गरिएका यी योजनाहरूलाई 'योजना बैंक' को रुपमा संकलन गरी आगामी दिनमा आवश्यकताका आधारमा क्रमशः कार्यान्वयन गरिने वडाध्यक्ष लम्सालले बताउनुभयो ।
यो प्रक्रिया मार्फत वडाका नागरिकको आवश्यकतालाई प्राथमिकतामा राख्दै योजना निर्माण गर्न सहज हुनेछ', उहाँले भन्नुभयो, “ यसले विकासका कार्यहरू व्यवस्थित बनाउने र जनअपेक्षालाई सम्बोधन गर्ने दिशामा सहयोग पुर्याउने विश्वास लिएका छौं ।”
भेलामा सहभागीहरूले आ–आफ्नो क्षेत्रको आवश्यकता र विकासका प्राथमिकताबारे सुझाव प्रस्तुत गरेका थिए। शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि, र अन्य पूर्वाधार विकासका योजना भेलामा प्रस्तुत गरिएका थिए। वडाले यी सुझावहरूको अध्ययन गरी दीर्घकालीन र तत्काल आवश्यक योजनाहरूलाई क्रमशः अघि बढाउने योजना बनाएको छ।
प्रतिक्रिया