राउटे समुदायकी १४ वर्षीया कलह शाहीलाई पुत्री लाभ

राउटे समुदायकी १४ वर्षीया कलह शाहीलाई पुत्री लाभ

काठमाडौँ  – राउटे समुदायकी १४ वर्षीया कलह शाहीले छोरीलाई जन्म दिएकी छिन् । २०७९ सालको चैत २९ गते १२ वर्षको उमेरमा २७ वर्षीय सुबिराम शाहीसँग विवाह गरेकी कलहले विवाह गरेको दुई वर्षपछि पहिलो सन्तानलाई जन्म दिएकी हुन् । ०७९ चैत्रमा राउटे समुदायका २९ वर्षका सुबिराम शाहीसँग बिहे गरेकी थिइन् । त्यो बेला सुबिरामको उमेर २७ वर्षको थियो ।

सुत्केरी भएपछि कलहको स्वास्थ्य अवस्था सामान्य रहेको र नवजात शिशुको अवस्था पनि ठिक रहेको स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन्। “सुत्केरी प्रक्रिया सकुशल सम्पन्न भएको छ, र आमा तथा बच्चाको अवस्था सामान्य छ,” समुदायमा कार्यरत स्वास्थ्यकर्मीहरूले जनाएका छन्।

कलहले छोरीलाई जन्म दिएसँगै राउटे समुदायको कुल जनसंख्या १३५ पुगेको छ। राउटे समुदायका जोडी शिक्षक लाल बहादुर खत्रीका अनुसार समुदायमा जन्मदर बढ्दै गएको देखिन्छ, तर समुदायको घुमन्ते जीवनशैली र परम्परागत स्वास्थ्य प्रणालीले सुत्केरी महिलाको स्वास्थ्यमा गम्भीर चुनौती सिर्जना गर्न सक्छ।

 बालविवाहको चपेटामा राउटे समुदाय

राउटे समुदायमा बालविवाह अझै पनि प्रचलित छ। १२ वर्षको उमेरमा विवाह गरेकी कलहले १४ वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएकी हुन्। 

बालविवाहका कारण किशोरीको स्वास्थ्यमा पर्ने दीर्घकालीन प्रभावप्रति विशेषज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। “यो उमेर सन्तान जन्माउन उपयुक्त समय होइन। यसले किशोरीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ,” महिला स्वास्थ्य सम्बन्धी जानकारहरूले बताएका छन्।

प्रतिक्रिया