रैथाने बाली प्रवर्द्धन गर्न गुराँसले कृषि महोत्सव गर्दै

रैथाने बालीको  प्रवर्द्धन  मात्र नभएर पर्यटक आकर्षणका लागि पनि टेवा पुग्ने विश्वास

रैथाने बाली प्रवर्द्धन गर्न गुराँसले कृषि महोत्सव गर्दै

काठमाडौँ -  दैलेखको गुराँस गाउँपालिकाले रैथाने बालीहरूको संरक्षण र प्रवद्र्धनका लागि कृषि महोत्सव आयोजना गर्ने तयारी गरेको छ । गाउँपालिकाले स्थानीय रूपमा उत्पादन हुँदै आएका परम्परागत बालीहरूलाई संरक्षण प्रवद्र्धन गर्न महोत्सव गर्ने बताएको हो । रैथाने बाली महोत्सव आयोजना गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने उद्देश्यले यो महोत्सव गर्न लागेको बताइएको छ ।

गाउँपालिकाका कृषि विकास शाखामा कार्यरत पूर्ण बहादुर खड्काका अनुसार पछिल्लो समय रैथाने बालीहरूको माग राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म बढिरहेको भए पनि उत्पादन भने घट्दो अवस्थामा रहेको छ । “रैथाने बाली संरक्षणले हाम्रो परम्परागत ज्ञान र जैविक विविधताको सुरक्षा गर्दै किसानहरूको आर्थिकस्तर सुधारमा पनि सहयोग पु¥याउनेछ,’ खड्काले भन्नुभयो  ।

गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा महोत्सवका लागि तीन लाख रुपैयाँ बजेट छुट्याएको छ । रैथाने बालीहरूको संरक्षण र प्रवद्र्धनका लागि दैलेखको गुराँस गाउँपालिकाले फागुन मसान्तसम्म कृषि महोत्सव आयोजना गर्ने योजना बनाएको गुराँस गाउँपालिका अध्यक्ष टोप बहादुर बिसी बताउँनुहुन्छ  । अध्यक्ष बिसीका अनुसार महोत्सवको समय फागुन मसान्तसम्म गुराँस फूल्ने समयमा आयोजना गरिने बिसीको भनाई छ ।

‘त्यो समयमा यहाँ गुराँस फुलेर यहाँको वातावरण मनमोहक देखिन्छ त्यसै समयमा महोत्सव आयोजना गर्ने योजनामा छौँ । यो केवल रैथाने बालीको  प्रवर्द्धन  मात्र होइन, पर्यटक आकर्षणका लागि पनि महत्त्वपूर्ण हुनेछ,” अध्यक्ष बिसीले भन्नुभयो  ।

गुराँस गाउँपालिका हिमाली भेगमा अवस्थित भएकाले फागुन महिनामा गुराँसका विभिन्न प्रजातिका फूलहरूले गाउँलाई प्राकृतिक सौन्दर्यले सजाएको हुन्छ । सोही समयमा यहाँ गुराँस फुलेर ढकमक्क भएको हुन्छ । महोत्सवको समयमा स्थानीय बाली र परम्परागत परिकारसँगै गुराँसका फूलहरूले पनि पर्यटकलाई आकर्षित गर्ने विश्वास गरिएको छ ।

रैथाने बाली र पर्यटनको समन्वय

गाउँपालिकाले महोत्सवमा रैथाने बालीहरू प्रदर्शन गर्ने मात्र नभई, त्यसलाई पर्यटकीय गतिविधिसँग जोड्ने योजना बनाएको छ । महोत्सवमा ४० प्रकारका रैथाने बालीहरु कोदो, कागुनो, डल्ले आलुजस्ता बालीहरूको प्रदर्शनी गरिनुका साथै परम्परागत परिकारहरूको स्टल समेत राख्ने योजना गाउँपालिकाको छ  ।

‘गुराँस फुलेको समयमा पर्यटकको आगमन बढ्ने भएकाले महोत्सवले यहाँको प्राकृतिक र सांस्कृतिक पक्षलाई उजागर गर्न मद्दत गर्छ। यसले गाउँको समग्र आर्थिक गतिविधिमा पनि योगदान पु¥याउँछ,’ बिसीले भन्नुभयोे ।
गुराँस गाउँपालिकाले फागुन मसान्तसम्म हुने महोत्सवलाई केवल कृषिसँग मात्र नभई सामुदायिक कृषि पर्यावरण अभियानका रूपमा समेत अघि बढाउन चाहेको छ । गाउँपालिकाले आयोजना गर्ने महोत्सवले रैथाने बालीको संरक्षण र पुनरुत्थानमा नयाँ उचाइ स्थापित गर्ने अपेक्षा गरिएको छ ।

यस महोत्सवले स्थानीयस्तरमा रैथाने बालीप्रतिको चासो बढाउने, किसानहरूलाई जागरूक बनाउने र बजार व्यवस्थापनका नयाँ सम्भावनाहरू सिर्जना गर्ने समेत विश्वास लिइएको अध्यक्ष बिसीले बताउनुभयो  । साथै, गुराँसको मौसममा आयोजित महोत्सवले गुराँस गाउँपालिकालाई पर्यटकीय गन्तव्यका रूपमा समेत स्थापित गर्ने दीर्घकालीन लक्ष्य पनि राखिएको छ ।

४० प्रकारका रैथाने बालीहरूको सूची तयार

गाउँपालिकाले हालसम्म ४० प्रकारका रैथाने बालीहरूको सूची तयार पारेको छ । तीमध्ये कोदो, कागुनो, डल्ले आलु, मुणिल गहुँ, भटमासजस्ता बालीहरू रहेका छन् । यी बालीहरूमध्ये धेरैजसो लोप हुने अवस्थामा पुगेकाले संरक्षण र प्रवद्र्धन अत्यावश्यक भएको गाउँपालिकाले जनाएको छ ।

२०७९÷८० को धान दिवसको अवसरमा गाउँपालिकाले रैथाने बालीको परिकार प्रदर्शनसमेत गरेको थियो । कोदोबाट बनेका परिकार जस्तै कोदोको सेल, कोदोको मःम, प्रदर्शनीमा राखिएको थियो । महोत्सवले यस प्रकारका परम्परागत परिकारहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

बाँझो जमिनको उपयोग

गुराँस गाउँपालिकाले बाँझो जमिन उपयोगका लागि ‘भूमी बैंक’ कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । कृषि शाखामा कार्यरत खड्काका अनुसार गाउँपालिकाभर करिब १ हजार रोपनी भन्दा बढी क्षेत्रफल बराबरको जमिन बाँझो छ ।

सिँचाइ अभाव लगायतका अन्य समस्याका कारण बाँझो जमिनको क्षेत्रफल बढ्दै गएको उल्लेख गर्दै उहाँले भन्नुभयोे, ‘बाँझो जमिनमा कृषि तथा पशुपालनका कार्यक्रम सञ्चालन गरेर त्यसलाई उपयोगी बनाउने योजना छ ।’

गाउँपालिकाले कार्यविधि निर्माण गर्दै भूमी बैंक कार्यक्रम अन्तर्गत, किसानहरूले बाँझो जमिनको उपयोग गरेबापत प्रतिरोपनीका दरले प्रोत्साहन गर्ने व्यवस्था रहेको खड्काको भनाई छ  । गाउँपालिकाले २०७९÷८० मा गरेको प्रयासबाट करिब दुइसय ४३ रोपनी बाँझो जमिनलाई खेतीयोग्य बनाएको थियो, जसलाई अहिले पनि निरन्तरता दिइएको छ ।

गाउँपालिकाले हरेक वर्ष बाँझो जमिन उपयोगका लागि आठ लाख रुपैयाँ बजेट छुट्याउँदै आएको छ । यस कार्यक्रमले स्थानीय उत्पादन बढाउनुका साथै आर्थिक विकासमा योगदान गर्ने विश्वास गरिएको छ ।
गुराँस गाउँपालिकाले बाँझो जमिन उपयोगका लागि ‘भूमी बैंक’ स्थापना गरी सहकारी, कृषि फर्म, निजी क्षेत्र र समुदायसँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ । गाउँपालिका अध्यक्ष झुपलाल बिसीका अनुसार बाँझो जमिनलाई उत्पादनशील बनाउन कार्यविधि तयार गरिएको छ ।

‘गाउँपालिकामा बाँझो रहेका जमिनहरू सहकारी, कृषि फर्म, वन समिति, कृषि समूह, र निजी क्षेत्रसँगको साझेदारीमा उपयोग गरिनेछ,’ अध्यक्ष बिसीले बताउनुभयो  । ‘ठूला कृषि फर्मलाई भित्र्याउने प्रयास पनि भइरहेको छ, जसले जमिनको प्रभावकारी उपयोगसँगै रोजगारीका अवसरहरू पनि सिर्जना गर्नेछ ।’

गुराँस गाउँपालिकामा पहिले पाँचहजार घरधुरी थिए भने अहिले चार हजार घरधुरी छन् । अध्यक्ष बिसीका अनुसार करिब तीनहजार घरधुरीले कृषि कार्यमा संलग्न छन । बाँकी एकजजार घरधुरी व्यापार, व्यवसाय, तथा वैदेशिक रोजगारीमा गएको छन् भने करिब पाँचसय घरधुरी बसाइँसराइ गरेर अन्यत्र गएका छन । गाउँपालिकाले बाँझो जमिन उपयोग गरेर कृषि उत्पादन बढाउने र स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्न मुख्य प्राथमिकता दिएको छ ।

भूमी बैंकमार्फत बाँझो जमिन उपयोगका लागि स्थानीय समुदाय, कृषि फर्म, र वन समितिसँग सहकार्य गरिनेछ । यससँगै सहकारी र निजी क्षेत्रलाई पनि प्राथमिकतामा राखिनेछ, जसले जमिनको व्यवस्थित व्यवस्थापन गर्दै उत्पादनशील क्षेत्रमा रूपान्तरण गर्नेछ ।

“गाउँपालिकामा रहेको बाँझो जमिनको उपयोगका लागि वन समिति र कृषि समूहसँग समन्वय गरेर उपयोग गर्ने हाम्रो योजना छ,’ अध्यक्ष बिसीले बताउनुभयोे ।

रैथाने बाली र महोत्सवको महत्व

गुराँस गाउँपालिकाको यो महोत्सवले रैथाने बालीको संरक्षण र  प्रवर्द्धनमा मात्र होइन, स्थानीय किसानहरूलाई परम्परागत कृषि प्रणालीप्रति प्रेरित गर्न पनि मद्दत पु¥याउनेछ । साथै, महोत्सवले रैथाने बालीको पोषणात्मक मूल्य र यसको व्यावसायिक सम्भावनालाई उजागर गर्नेछ ।

यस कार्यक्रमले पर्यावरणीय संरक्षण, खाद्य सुरक्षा, र आर्थिक सुधारमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको गाउँपालिका उपाध्यक्ष शिवा कुमारी खड्काले बताउनुभयो   । ‘रैथाने बाली हाम्रो परम्परा र पहिचान हो । यसको संरक्षण र प्रवद्र्धन हाम्रो जिम्मेवारी हो,’ उपाध्यक्ष खड्काले भन्नुभयो   ।
 

प्रतिक्रिया