भूकम्पपछिको जाजरकोट : खानेपानी क्षेत्रमा सोसेकको योगदान
काठमाडौँ - गत वर्ष कात्तिक १७ गते जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पले जाजरकोट र रुकुमपश्चिममा ठूलो धनजनको क्षति पुर्यायो । यो प्रकोपमा धेरैले ज्यान गुमाउनुका साथै भौतिक संरचना ध्वस्त भए । विशेष गरी, विद्यालय क्षेत्र र बालबालिका यस भूकम्पका प्रमुख प्रभावित बने ।
जाजरकोट जिल्लाको नलगाड नगरपालिकामा भूकम्पको असर अझै गहिरो छ । खानेपानी, भौतिक संरचना, र दैनिक जीवनका आधारभूत सेवाहरूमा गम्भीर प्रभाव परेको छ । यस्तो अवस्थामा, सोसेक नेपालले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतका कामहरू गर्दै आइरहेको छ।
सोसेक नेपालले नलगाड नगरपालिकामा खानेपानीको क्षेत्रमा उल्लेखनीय कामहरू गरिरहेको जनाएको छ । हालसम्म, संस्थाले १४ वटा खानेपानी योजनाहरू निर्माण गरिसकेको छ, जसले स्थानीय बासिन्दाको लागि स्वच्छ र सुरक्षित पानीको पहुँच सुनिश्चित गर्न मद्दत पुर्याएको छ ।
पानीको शुद्धतामा जोड दिंदै, सोसेक नेपालले पानी परिक्षणको आधुनिक प्रक्रिया अपनाइरहेको छ । खानेपानीका नमुनाहरू संकलन गरेर कार्यालयको प्रयोगशालामा परीक्षण गरिन्छ । परीक्षणका क्रममा केही खानेपानी स्रोतमा इकोली र कोलीफर्म जस्ता हानिकारक जीवाणु फेला परेका छन्। यस्तो अवस्थामा, संस्थाले ती क्षेत्रमा विशेष प्रक्रिया अपनाई पानीको गुणस्तर सुधार गर्न काम गरिरहेको सोसेकले जनाएको छ ।
सोसेक नेपालमा कार्यरत खानेपानी ल्याब टेक्निसियन हिक्मत बहादुर सिंहका अनुसार, पानीको शुद्धता सुनिश्चित गर्न आधुनिक उपकरणको प्रयोग हुँदै आएको छ।
पानीको मुहानबाट उपभोक्ताको धारासम्म शुद्ध पानी पुगोस् भन्ने उद्देश्यका साथ पानी परिक्षण, जीवाणु हटाउने प्रक्रिया, र अन्य प्रविधिहरूको प्रयोग गरिँदै आएको छ।
सोसेकको प्रयासले भूकम्प प्रभावित जाजरकोटको नलगाड क्षेत्रका बासिन्दालाई स्वच्छ पानीको पहुँच दिलाउन मात्र होइन, स्वास्थ्य जोखिम पनि न्यून गर्न ठूलो भूमिका खेलेको छ। संस्थाले नलगाडका विभिन्न स्थानमा सुधारिएको खानेपानी संरचना स्थापना गरी स्थानीय समुदायलाई राहत पुर्याएको छ ।
सोसेक नेपालले खानेपानीका योजनाहरूलाई अझ प्रभावकारी बनाउन र दीर्घकालीन समाधान उपलब्ध गराउन आफ्नो कामलाई निरन्तरता दिने जनाएको छ। विशेष गरी, ग्रामीण क्षेत्रमा खानेपानी स्रोतको सुरक्षा, पानीको गुणस्तर सुधार, र जनचेतना कार्यक्रमलाई प्राथमिकता दिइनेछ।
जाजरकोट र रुकुमपश्चिमजस्ता विपद् प्रभावित क्षेत्रमा सोसेक नेपालको यी प्रयासहरूले स्थानीय समुदायको जीवनस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
प्रतिक्रिया