'भूकम्पपछिको कठिन परिस्थितिमा सोसेकको सहयोगले नयाँ गति दियो'

'भूकम्पपछिको कठिन परिस्थितिमा सोसेकको सहयोगले नयाँ गति दियो'

काठमाडौँ -   गत वर्ष कात्तिक १७ गते जाजरकोटमा गएको भुकम्पले जाजरकोट र रुकुमपश्चिममा ठूलो धनजनको क्षति पुर्‍यायो । भूकम्पका कारण धेरैले ज्यान गुमाए भने, रुकुम पश्चिम र जाजरकोटका भौतिक संरचनाहरू पूर्ण रूपमा ध्वस्त भए । यसबाट विद्यालय क्षेत्र र बालबालिका सबैभन्दा धेरै प्रभावित बनेका थिए  ।

भूकम्पका कारण अभिभावक र साथीहरू गुमाएका बालबालिकाहरूको मानसिक अवस्थामा गम्भीर असर पर्‍यो । यस कठिन अवस्थामा, सोसेक नेपालले बालबालिकाहरूको शैक्षिक वातावरण पुनःस्थापना गर्न उल्लेखनीय योगदान गर्दै आएको छ । भूकम्प गएको पाँच घण्टामै उद्धार र राहतमा सक्रिय भएको सोसेक नेपालले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका  १४ नम्बर वडा ज्यामिरे चौरमा रहेको जनविकास माध्यमिक विद्यालयलाई प्राथमिकतामा राख्दै विशेष कार्यक्रमहरू सुरु गर्‍यो ।

भूकम्पका कारण ज्यामिरे चौरको जनविकास विद्यालयका ३ जना विद्यार्थी र ८ जना अभिभावकको ज्यान गएको थियो । यस्तो अवस्थामा बालबालिकाहरूको मनोस्थिति सामान्य बनाउन र विद्यालय आउने वातावरण सिर्जना गर्न सोसेक नेपालले बालमनोपरामर्श कक्ष, बालमैत्री सिकाई केन्द्र, र शैक्षिक सामग्रीहरूको वितरण गरेको थियो  ।

सोसेक नेपालले विभिन्न दातृ निकायहरूको सहयोगमा जनविकास माध्यामिक विद्यालयमा बालमैत्री सिकाई केन्द्र स्थापना गर्‍यो । करिब १४ महिनासम्म यो केन्द्रमार्फत बालबालिकाहरूको सिकाईलाई सहज बनाउन काम गरिएपछि हाल विद्यालयमा अवस्था सामान्य भएको सोसेक नेपालका कार्यकारी निर्देशेक हिरासिंह थापाले   जानकारी दिनुभयो ।

अवस्थालाई थप व्यवस्थित बनाउन, सोसेक नेपालले औपचारिक कार्यक्रममार्फत बालमैत्री सिकाई केन्द्र विद्यालयलाई हस्तान्तरण गरेको छ । यस अवसरमा विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि, र स्थानीय बासिन्दाहरूले सोसेक नेपालको सहयोगलाई प्रशंसा गरेका थिए  ।

श्री जनविकास माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कर्ण बहादुर मल्लले सोसेक नेपालको काम प्रति आभार प्रकट गर्दै यसले बालबालिकाहरूको भविष्य उज्यालो बनाएको बताउनुभयो । 

त्यस्तै सोही विद्यालयका प्रधानाध्यापक दीपक संगम थापाले भन्नुभयो, “भूकम्पपछिको कठिन परिस्थितिमा सोसेक नेपालको सहयोगले विद्यालयलाई नयाँ गति दियो ।”

आठबिसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीले कार्यक्रमलाई सम्बोधन गर्दै भूकम्पले सिर्जना गरेको संकटका बेला सोसेक नेपालको मितव्ययी र समयमै पुर्‍याइएको सहयोगलाई कहिल्यै भुल्न नसकिने बताउनुभयो । “आगामी दिनमा पनि यस्तै सहयोगको खाँचो छ,” उहाँले भन्नुभयो ।

बालमैत्री सिकाई केन्द्र हस्तान्तरण गर्दै सोसेक नेपालका कार्यकारी निर्देशक हिरा सिंह थापाले भन्नुभयो, “भूकम्पपछिको क्षतिलाई मुल्यांकन गर्दै बालबालिकाहरूलाई सकारात्मक सिकाईका लागि प्रेरित गर्ने उद्देश्यले काम गर्‍यौं । अहिले केन्द्रबाट पाएका उपलब्धिहरूले हाम्रो प्रयास सफल भएको प्रमाणित गरेको छ ।”

सोसेक नेपालले भूकम्पपछिको चुनौतीपूर्ण समयमा न केवल भौतिक संरचना पुनर्निर्माणमा काम गर्‍यो, तर मानसिक रूपमा आहत बालबालिकाहरूलाई मनोबल बढाउँदै शैक्षिक यात्रामा फर्काउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको स्थानीय बताउँछन् ।

स्थानीय बासिन्दाहरू र विद्यालय परिवारले सोसेक नेपालको काम प्रति गहिरो कृतज्ञता व्यक्त गरेका छन् । बालमैत्री सिकाई केन्द्र हस्तान्तरणसँगै सो क्षेत्रका बालबालिकाहरूले अब सुरक्षित र प्रेरणादायक शैक्षिक वातावरणमा सिक्न पाउने सुनिश्चित भएको छ।

प्रतिक्रिया