विद्यालयस्तरमा ‘विकमिङ वेभ’ वेब सिरिज स्क्रिनिङ क्याम्प
काठमाडौं - सुर्खेतको वीरेन्द्रनगरमा विकमिङ वेब सेरिज सम्वन्धि स्क्रीनीङ क्याम्प संचालन गरिएको छ । सोसेक नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित लैङ्गिक तथा यौनिक अल्पसंख्यक बालबालिका र युवाको अधिकार संरक्षण तथा समावेशीता प्रवद्र्धन परियोजना अन्तर्गत विकमिङ वेब सिरिज सम्बन्धी स्क्रीनीङ क्याम्प वीरेन्द्रनगर नगरपालिका अन्तर्गत दुई विद्यालयमा सम्पन्न भएको छ ।
कार्यक्रम प्रभात माध्यमिक विद्यालय, वीरेन्द्रनगर – २ कोलडाँडा र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, वीरेन्द्रनगर –६ मा संचालन गरिएको थियो । कार्यक्रममा ८२ जनाको सहभागिता रहेको थियो, जसमा २९
बालबालिका, शिक्षक, विद्यालय व्यवस्थापन समिति (एसएमसी) का अध्यक्ष र अन्य पदाधिकारीको उपस्थिति रहेको थियो ।
कार्यक्रमले बिकमिङ वेब सिरिज मार्फत यौन अभिमुखीकरण, लैङ्गिक पहिचान, प्रस्तुति र यौन विशेषताबारे जानकारी दिने उद्देश्य राखेको थियो । चार भागमा बनेको यो चेतनामूलक सिरिजले विद्यालय, समुदाय र परिवारमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक विषयमा चेतना अभिवृद्धि गर्न र सामाजिक स्वीकृति बढाउन सहयोग गरेको छ ।
वीरेन्द्रनगर नगरपालिकाका – ५ र गुराँस गाउँपालिकाका ८ वडामा संचालनमा रहेको र अघिल्ला वर्षमा पनि यो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम पश्चात् दैलेखको गुराँस गाउँपालिका र वीरेन्द्रनगरमा गरि ७ जना बालबालिका र कर्णाली प्रदेशको सुर्खेतमा करिव २० जना खुलेर रहेको लैङ्गिक तथा यौनिक अल्पसंख्यक अधिकारकर्मी तथा ट्रान्सजेण्डर महिला अञ्जली वि.सी. ले बताउनुभयो ।
यस कार्यक्रम संचालन भएपछि विद्यालय, समुदाय र परिवारमा ज्ञान वृृद्धि भई सामाजिक स्वीकृती बढेको छ र बालबालिका स्क्रीनीङ हुनमा सहयोग पुगेको छ कार्यक्रममा सहभागी एक शिक्षकले भन्नुभयो , ‘पहिले एकजना बालक जहिले केटीको लाईनमा बस्न रुचाउँथे, उनको व्यवहार केटी जस्तै थियो । उनी केटीको लाइनमा बस्दा म उनलाई हप्काएर केटाको लाईनमा बस्न जर्बजस्ती गर्थे, अहिले आएर महशुस भएको छ मैले गलत गरेको रहेछु । अहिले उनी आफु लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पहिचान सहित खुलेर आएको सुनेको छु । यो ज्ञान मैलै पाएको भए त्यस्तो व्यवहार गर्दैनथिएँ होला ।’
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय विरेन्द्रनगर – ६ का प्रधानाध्यापक गणेश कुमार न्यौपानेले कार्यक्रमलाई महत्वपूर्ण भएको उहाँको भनाई छ ।
यस कार्यक्रम लागू भएपछि लैङ्गिक तथा यौनिक अल्पसंख्यकसम्बन्धी नयाँ ज्ञान प्राप्त गर्न सकेका छौं । पहिले तेस्रोलिङ्गीलाई मात्र चिनिने र समाजले घृणाको दृष्टिले हेर्ने गरेकोमा अहिले आएर बुझ्दा हाम्रा विद्यालयमा यसका सबै विशेषता र व्यवहार भएका बालबालिका पनि हुन सक्छन् भन्ने महसुस भएको उहाँले बताउनुभयो ।
यो विषयलाई सबै कक्षामा समावेश गरी ज्ञान प्रदान गर्न अत्यावश्यक ठानेका छौं,’उहाँले भन्नुभयो, ‘विद्यालय सुधार योजनामा यसलाई समावेश गर्दै बाल क्लबहरूमार्फत चेतनामूलक कार्यक्रम सञ्चालन गरेर उनीहरूका लागि सहज वातावरण निर्माण गर्ने पहल गरिनेछ ।’
त्यस्तै वीरेन्द्रनगर नगरपालिका वडा नम्बर – २ का अध्यक्ष गज बहादुर बुढाले कार्यक्रमको प्रभावकारिताको चर्चा गर्नुहुँदै भन्नुभयोे, ‘सरकारमा प्रतिनिधित्व गर्ने र कानुन निर्माण गर्ने जिम्मेवारी भएका व्यक्तिहरूले पनि अझैसम्म यो विषयलाई पर्याप्त बुझ्न नसकेको अवस्था छ । पहिले यस्ता कार्यक्रममा सहभागी हुन नसकेपनि तर, यसपटक पूरै कार्यक्रममा सहभागी भई मैले यस विषयमा थप ज्ञान हासिल गरेको छु । अब स्थानीय सरकारका ऐन, कानुन, कार्यक्रम र बजेटमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई समावेश गर्नका लागि सक्रिय आवाज उठाउनेछु ।’
प्रभात माध्यामिक विद्यालय वीरेन्द्रनगर २ कोलडाँडाका प्रधानाध्यापक गंगीसरा सारुले आफ्नो विद्यालयमा विभिन्न जातजाति, वर्ग र लैङ्गिकताका बालबालिका हुन सक्छन् भन्ने यथार्थलाई हामीले स्वीकार गर्नुपर्ने बताउनुभयो ।
सहभागी शिक्षकहरूले यस विषयमा सम्पूर्ण कक्षामा जानकारी दिनुपर्छ,’उहाँले भन्नुभयो, ‘तर, यति मात्र पर्याप्त हुँदैन । समुदायसम्म पुगेर संस्थाले पनि जानकारी गराउनुपर्छ। समुदायमा ज्ञानको अभाव हुँदा भेदभाव अझै देखिन्छ । यस विषयमा चेतना अभिवृद्धिका लागि हामी सबै प्रतिबद्ध छौं ।’
बालबालिकाहरूले यस्तो स्वभाव भएका साथीहरूलाई जिस्काउने, भेदभाव गर्ने वा लाञ्छना लगाउने कार्य गर्न नहुने र सबैका लैङ्गिक पहिचान र यौन विशेषतालाई सम्मानपूर्वक स्वीकार गर्नुपर्ने उहाँको भनाई थियो ।
वीरेन्द्रनगरमा सम्पन्न प्रधानाध्यापकहरूको बैठकका अवसरमा सामुदायिक विद्यालयका ५९ जना प्रधानाध्यापक, नगरपालिकाका अधिकारीहरू र साझेदार संस्थाका प्रतिनिधिहरूसहित जम्मा ८० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा ट्रान्सजेण्डर महिला अञ्जली वि.सी.ले आफ्नो जीवनका भोगाइ र चुनौतीबारे आफ्ना अनुभवहरू साझा गर्नुभएको थियो । मेरो भोगाइले सम्पूर्ण लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्दछ,’अञ्जलीले भन्नुभयो, ‘अझै पनि समाजमा धेरै चुनौती र भेदभावको सामना गर्नुपरेको छ, तर यस्ता कार्यक्रमले चेतना फैलाउन मद्दत गर्दछ ।’
बैठकमा उपस्थित प्रधानाध्यापकहरूले कार्यक्रमले आफूहरूलाई नयाँ दृष्टिकोण प्रदान गरेको बताउँदै विद्यालय र समुदायमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको लागि सुरक्षित वातावरण निर्माण गर्न सक्रिय पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
वीरेन्द्रनगर नगरपालिकाका उपसचिव तथा शिक्षा प्रमुख धिरेन्द्र शर्माले कार्यक्रममा बोल्दै भन्नुभयोे, ‘विद्यालयमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकसम्बन्धी विषय पढाइनु अत्यावश्यक छ । त्यसैले वीरेन्द्रनगरको स्थानीय पाठ्यपुस्तकमा यसलाई समावेश गर्ने प्रक्रिया अघि बढाउनेछौं । साथै, सरकारी कार्यक्रमहरूमा पनि यस विषयको समावेशीकरणलाई प्राथमिकता दिइनेछ ।’
शिक्षकहरूलाई लैङ्गिक पहिचान र यौन अभिमुखीकरणबारे जानकारी
त्यस्तै गुराँस गाउँपालिकामा २९ जना आधारभूत तहका शिक्षकहरूका लागि आयोजित पाँचदिने तालिमले शिक्षकहरूलाई लैङ्गिक पहिचान र यौन अभिमुखीकरणका बारेमा विस्तृत जानकारी प्रदान गरेको छ । तालिममा सहभागी शिक्षकहरूले सरकारका कार्यक्रम र बजेटमा यस्ता विषयहरूलाई समावेश गर्न आवश्यक रहेको कुरा औँल्याएका थिए ।
बालक्लबका पदाधिकारी तथा सदस्यहरूले पनि यस विषयलाई प्रभावकारी बनाउन विद्यालयस्तरमै विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने योजना राखेका राखेका छन् । उनीहरूले विद्यालयमा सबै बालबालिकाका लागि सुरक्षित वातावरण तयार गर्न आवश्यक पहल गर्न शिक्षक, अभिभावक, र समुदायको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।
प्रतिक्रिया