एमालेले राष्ट्र र जनतालाई केन्द्रमा राखेर जनपक्षीय काम गरेको छ : कँडेल
काठमाडौं - कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले देश बनाउन सक्ने एकमात्र पार्टी नेकपा एमाले भएको बताउनुभएको छ ।
नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले एमालेले जहिले पनि राष्ट्र र जनतालाई केन्द्रमा राखेर जनपक्षीय काम गरेको बताउनुभयो ।
उहाँले दक्षिण एसियाको इतिहासमा पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीदेखि हालसम्मका कम्युनिस्ट सरकारले जनपक्षीय काम गरेका कारण एमालेप्रति जनताको विश्वास बढिरहेको बताउनुभयो ।
मुख्यमन्त्री कँडेलले एमालेको नीति, विचार, र नेतृत्व सही भएकाले जनताको आकर्षण बढेको दाबी गर्नुभयो । उहाँले सरकारलाई पाएको अवसरमा जनताको चाहनाअनुसार काम गर्न केन्द्रित भएकाले आर्थिक लगायतका क्षेत्रमा सुधारको संकेत देखिएको र जनताले यस सरकारप्रति भरोसा र विश्वास राखेको बताउनुभयो ।
बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य नवराज रावत, मोहनमाया ढकाल, ठम्मर बिष्ट, प्रदेश कमिटी सचिव ध्रुव शाही, र जिल्ला कमिटीका अन्य नेताहरूको सहभागिता रहेको थियो।
मुख्यमन्त्री कडेलले एमालेले आफ्नो सिद्धान्त र विचारधाराका आधारमा राज्य सञ्चालन गर्दै आएको र भविष्यमा पनि जनताका चाहनालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया