भूकम्पपछिको एक वर्ष : पुनर्निर्माणको प्रतीक्षामा कल्पत, राहतको हात बढाउँदै सोसेक
काठमाडौँ - १७ कात्तिक २०८० मा जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पले सयौँ परिवारको जीवन तहसनहस बनायो। यो विपत्तिले जाजरकोट र रुकुम पश्चिमका धेरैले ज्यान गुमाए, थुप्रै घरधुरी बिचल्लीमा परे। भूकम्पको एक वर्ष बितिसक्दा पनि प्रभावित धेरै परिवारहरू अझै अस्थायी टहरामै जीवनयापन गर्न बाध्य छन् ।
भुकम्पले क्षतविक्षत भएको नलगाड नगरपालिकाको कल्पत क्षेत्र अहिले पनि पुनर्निर्माणको प्रतीक्षामा छ। यहाँका भूकम्पपीडित परिवारहरू अस्थायी टहरामा बस्दै आएका छन्, जसका लागि भाडाको जमिन नै अस्थायी बसोबासको थलो बनेको छ। गास, बास, कपास मात्र होइन, यहाँ खानेपानी र शौचालयको अभाव झनै विकराल समस्या बनेको थियो ।
तर, त्यही कठिनाइबीच आशाको किरण बनेर पुग्यो – सोसेक नेपाल । नलगाड नगरपालिकासँगको सहकार्यमा यस संस्थाले ’एक घर, एक धारा अभियान’ सञ्चालन गरेको छ, जसअन्तर्गत प्रत्येक घरमा खानेपानीको सुविधा पु¥याइएको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापा बताउँनुहुन्छ ।
कल्पतको भूगोल साँच्चै चुनौतीपूर्ण छ । उच्च डाँडामा अवस्थित यस बस्तीमा खानेपानीको स्रोत छैन । भूकम्पपछि विस्थापित परिवारहरू लामो समयसम्म टाढाको खोलाबाट पानी ल्याएर गुजारा गर्न बाध्य थिए । जसले गर्दा दूषित पानी पिउनु परेकै कारण बिरामी पर्ने समस्या बढ्दै गएको थियो । तर, अहिले सोसेक नेपालले यहाँ खानेपानीको सुनिश्चितता गराएको स्थानीय अगुवा जनक परियारले बताउनुभयो । परियारका अनुसार, अब बस्तीका परिवारहरू सुरक्षित र शुद्ध पानी पिउन पाउने भएका छन्।
शौचालय अभाव देखि अपांगमैत्री पूर्वाधारसम्म
भूकम्पछिको अस्थायी बस्तीमा शौचालयको अभावले अझै ठूलो चुनौती खडा गरिरहेको थियो । तर, एक वर्षपछि भए पनि बस्तीमा शौचालय निर्माणका प्रयासहरू सफल भएका छन् । विद्यालयहरूमा समेत खानेपानी र शौचालयको अभाव थियो, जसले विद्यार्थीहरूको पठनपाठन प्रभावित गरिरहेको थियो।
तर, अहिले अपांगमैत्री शौचालयसहित विद्यालयमा पनि आधारभूत सुविधाहरू विस्तार गरिएका छन् । शौचालय निर्माण भएपछि बस्तीका बालबालिकाका लागि यो ठुलो राहत भएको परियारले बताउनुभयो ।
पुनर्निर्माणमा सरकारी ढिलाइ
हालसम्म पुनर्निर्माण विधेयक पारित नहुँदा कल्पतका भूकम्पपीडितहरू अझै अस्थायी टहरामै जीवन बिताउन बाध्य छन् । एक वर्ष बितिसक्दा पनि स्थायी पुनर्निर्माणको प्रक्रिया अघि नबढ्नुले स्थानीयहरू निराश छन्। तर, गैरसरकारी संस्थाहरूको सहकार्यले केही मात्रामा भए पनि राहत दिएको छ।
सोसेक नेपालका कार्यकारी निर्देशक हिरा सिंह थापा भन्नुहुन्छ, ‘हामीले भूकम्पपछि विभिन्न किसिमका सहयोग गर्दै आएका छौँ । तर, पनि बस्तीमा अझै पनि थुप्रै क्षेत्रका लागि सहयोग आवश्यक छ।’
कल्पत मात्र होइन, जाजरकोटका विभिन्न भूकम्पपीडित बस्तीहरू अझै पुनर्निर्माण पर्खाइमा छन्। स्थायी बसोबास, रोजगारीका अवसर, र आधारभूत पूर्वाधारको अभावले यहाँका नागरिकहरू थप कठिनाइमा परेका छन् ।
तर, खानेपानी र शौचालयजस्ता जरूरी संरचना निर्माणसँगै कल्पत बस्तीमा आशाको सञ्चार भएको छ । स्थानीय तह र संघसंस्थाहरूको हातेमालो अझै मजबुत हुन सके, पुनर्निर्माणको यात्रा सहज बन्नेछ।
प्रतिक्रिया