ठाटीकाँधका व्यवसायिक कृषकलाई पक्की प्लाष्टिक टनेल वितरण
ठाटीकाँध - दैलेखको ठाटीकाँध गाउँपालिकाका व्यवसायिक कृषकहरूलाई पक्की प्लाष्टिक टनेल वितरण गरिएको छ। एइआइएन लक्जेम्बर्गको साझेदारीमा सोसेक नेपालद्वारा संचालित सहकार्य परियोजनाको सहयोगमा स्थानीय कृषकहरूलाई आधुनिक कृषि प्रविधि उपलब्ध गराउने उद्देश्यले टनेल वितरण गरिएको हो।
ठाटीकाँधमा व्यवसायिक तरकारी खेती गर्दै आएका पाँच वडाका आठ जना कृषकलाई पक्की प्लाष्टिक टनेल प्रदान गरिएको कृषि प्राविधिक भुपेन्द्र सिजापतिले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर १, २, ३, ४ र ६ नम्बर वडाका कृषकहरूले यस सुविधाबाट लाभ लिएका छन्। टनेलसँगै कृषकहरूलाई काक्रा, फर्सी, करेला, टमाटर लगायतका व्यावसायिक तरकारी खेती गर्न सुझाव दिइएको छ।
पक्की प्लाष्टिक टनेल प्राप्त गरेपछि कृषकहरू अत्यन्त उत्साहित भएका छन् । ठाटीकाँध गाउँपालिका - २ का कृषक नेम बहादुर बिष्टले विगतमा कच्ची प्लाष्टिक टनेलको प्रयोग गर्दा विभिन्न समस्याहरू सामना गर्नुपरेको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘हावाहुरीले कच्ची टनेल उडाउने, बाँस कुहिने तथा नयाँ निर्माण गर्न धेरै समय र खर्च लाग्ने समस्याबाट अब मुक्ति मिलेको छ। पक्की टनेलका कारण खेतीमा सहजता ल्याउनुका साथै समय र श्रमको बचतसमेत हुनेछ।’
स्थानीय कृषकहरूका लागि आधुनिक कृषि प्रविधि प्रवर्द्धन गर्ने उद्देश्यले वितरण गरिएको पक्की प्लाष्टिक टनेलले तरकारी उत्पादनमा वृद्धि ल्याउने अपेक्षा गरिएको छ। कृषकहरूलाई कृषि क्षेत्रको दिगो विकासतर्फ अग्रसर गराउन यस्ता परियोजनाहरू महत्वपूर्ण हुने सोसेक नेपालद्वारा ठाटीकाँधमा संचालित सहकार्य परियोजना जीवराज रेग्मीले बताउनुभयो ।
प्रतिक्रिया