जुम्लामा जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन
दैलेख - जुम्लामा लैङ्गिक हिंसा न्यूनीकरण तथा पीडितलाई न्याय सुनिश्चित गर्न जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन गरिएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजनामा, चन्दननाथ नगरपालिकाको सहकार्यमा तथा सोसेक नेपाल, दैलेखद्वारा सञ्चालित ‘विहानी परियोजना’ को समन्वयमा सञ्जाल गठन गरिएको हो।
सञ्जाल निर्माण कार्यक्रममा जिल्लाका सरकारी कार्यालय, उद्योग वाणिज्य संघ, विभिन्न सरोकारवाला संघ–संस्था, नागरिक समाजका प्रतिनिधिहरूको व्यापक सहभागिता रहेको थियो। उक्त अवसरमा जिल्ला प्रहरी प्रमुख तथा सञ्जालका संयोजक क्षेदीलाल कामतीले लैङ्गिक हिंसाका परिभाषा, कारण र प्रकारबारे जानकारी गराउनुका साथै जिल्लाका सबै स्थानीय तहमा सञ्जाल निर्माण भइसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा चन्दननाथ नगरपालिका–६ का वडा अध्यक्ष रवि थापाले कानुनी प्रावधानका विषयमा स्थानीय तहमा व्यापक जनचेतना फैलाउने प्रतिबद्धता व्यक्त गर्दै, लैङ्गिक हिंसाका घटनाहरूको तत्काल सम्बोधन गर्ने उद्देश्यले कार्ययोजना बनाई अघि बढ्ने बताउनुभयो ।
सञ्जालको मुख्य उद्देश्य लैङ्गिक हिंसा न्यूनीकरणका लागि पीडितलाई सेवा प्रदान गर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गर्ने रहेको छ। उक्त सञ्जालमा जिल्ला प्रहरी प्रमुख क्षेदीलाल कामतीको संयोजकत्वमा जिल्ला प्रशासन, नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, वाल क्लब तथा नागरिक समाजका प्रतिनिधिहरू समेत गरी २१ सदस्यीय संरचना तय गरिएको छ।
यस सञ्जालको माध्यमबाट लैङ्गिक हिंसाका घटनाहरूको न्यूनीकरण तथा पीडितहरूलाई न्याय दिलाउने प्रयासलाई प्रभावकारी बनाउन पहल गरिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया