ग्रामिण भेगका महिलाहरू पाठेघर खस्ने समस्याबाट ग्रसित छन् : सांसद राना

स्वास्थ्य सेवामा सुधार गर्न सरकारलाई आग्रह

ग्रामिण भेगका महिलाहरू पाठेघर खस्ने समस्याबाट ग्रसित छन्  : सांसद राना

 

काठमाडौँ -  प्रतिनिधि सभा सांसद सिता कुमारी रानाले ग्रामिण भेगका धेरै महिलाहरू पाठेघर खस्ने समस्याबाट पीडित भइरहेको बताउनुभएको छ। बिहीवार प्रतिनिधि सभा संसदमा बोल्दै उहाँले केही महिलाहरू पहिलो चरणमै सीमित रहन्छन् भने कति महिलाहरू दोस्रो चरणसम्म पनि पाठेघर खस्ने समस्याबाट ग्रसित भएको बताउनुभएको हो ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई प्रश्न गर्ने क्रममा सांसद रानाले ग्रामिण क्षेत्रमा महिलाहरूलाई आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाइ भइरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, 'महिलाहरूलाई उपचारका लागि कहाँ जाने, कसरी उपचार गर्ने भन्ने स्पष्ट जानकारी नहुँदा समस्या झन् जटिल बन्दै छ। साथै, यातायातको अभाव र आर्थिक रूपमा कमजोर अवस्था भएकाले उपचार प्रक्रियामा संलग्न हुन सक्ने अवसर सीमित छ।'

सांसद रानाले ग्रामिण स्वास्थ्य चौकीहरूमा पाठेघर खस्ने समस्याको उचित उपचार सम्बन्धी ज्ञानको अभाव रहेकोसमेत औंल्याउनुभयो । उहाँले भन्नुभयो,  'पाठेघर खस्न रोकथामका लागि प्रयोग गरिने पेसरी  रिङ कुन साइजको उपयुक्त हुन्छ भन्ने विषयमा स्वास्थ्य चौकीका कर्मचारीहरूमा स्पष्टता नहुँदा महिलाहरूलाई अनावश्यक असजिलो भएको छ।'

गलत साइजको रिङ प्रेसरी राख्दा उनीहरूलाई दैनिक कार्यहरू गर्न कठिनाइ हुने भएकाले यसतर्फ विशेष ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो।

ग्रामिण भेगका महिलाहरूलाई आवश्यक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन, यातायात सुविधाको विस्तार गर्न तथा आर्थिक रूपमा कमजोर वर्गका महिलाहरूलाई निःशुल्क वा सहुलियतपूर्ण उपचारको व्यवस्था गर्न सरकारलाई विशेष पहल गर्न उहाँले सुझाव दिनुभयो ।

प्रतिक्रिया