जलवायु परिवर्तनसँग जुध्न अध्ययन अनुसन्धानको खाँचो : सांसद राना

काठमाडौँ – प्रतिनिधि सभा सदस्य सिता कुमारी रानाले जलवायु परिवर्तनका प्रभावलाई न्यूनीकरण गर्न नवीन प्रकृति, सीप विज्ञान तथा नवीकरणीय ऊर्जा सम्बन्धी गहिरो अध्ययन र अनुसन्धानको खाँचो रहेको बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद रानाले नेपालमा जलवायु परिवर्तनको असर तीव्र रूपमा देखापरेको उल्लेख गर्दै यसको प्रभाव विशेष गरी युवा तथा बालबालिकामा गम्भीर रूपमा परेको बताउनुभयो ।
संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार विश्वभर करिब ७० प्रतिशत युवाले जलवायु परिवर्तनलाई चिन्ताको विषयका रूपमा लिएका छन् । नेपालमा पनि युवा पुस्ताले वातावरण संरक्षण तथा जलवायु परिवर्तनविरुद्ध विभिन्न अभियान सञ्चालन गरिरहेका भए तापनि सरकार र सम्बन्धित निकायको बेवास्ता रहने गरेको गुनासो उहाँले व्यक्त गर्नुभयो ।
जलवायु परिवर्तनसँग जुध्न वैज्ञानिक दृष्टिकोण आवश्यक छ, जसका लागि नवीन प्रविधि, सीप विकास तथा नवीकरणीय ऊर्जाको प्रभावकारी उपयोग अपरिहार्य छ,’उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सीका अनुसार सन् २०५० सम्म हरित ऊर्जा क्षेत्रमा विश्वभर ४ करोड २० लाखभन्दा बढी रोजगारी सिर्जना हुने अनुमान गरिएको छ। नेपालजस्ता देशहरूका लागि पनि यस क्षेत्रले उल्लेखनीय अवसर प्रदान गर्न सक्छ ।’
“जलवायु परिवर्तनको असर युवा पुस्ताको भविष्यसँग प्रत्यक्ष रूपमा गाँसिएको छ। त्यसैले चुनौतीको सामना गर्दै उपलब्ध अवसरहरूको सदुपयोग गर्न युवा पुस्ताले अहिले नै सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ,” उहाँले भन्नुभयो ।
सांसद रानाले जलवायु परिवर्तन न्यूनीकरण तथा नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि सरकारलाई आवश्यक नीति निर्माण तथा कार्यान्वयनमा गम्भीर ध्यान दिन गम्भिर रुपमा ध्यानाकर्षण गर्नुभयो ।
प्रतिक्रिया