राकममा स्याटेलाइट अस्पताल सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय

राकममा  स्याटेलाइट अस्पताल सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ –  सरकारले दैलेखको राकम कर्णालीस्थित आधारभूत अस्पताललाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत राखी सञ्चालन गर्ने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको हो।

कर्णाली प्रदेशको केन्द्र मानिने दैलेखको राकम कर्णालीमा अवस्थित यो अस्पताललाई स्तरवृद्धि गरी ५० शय्याको अस्पतालका रूपमा सञ्चालन गर्ने योजना रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, 'सरकारको यस निर्णयले प्रतिष्ठानको भविष्यमा महत्वपूर्ण प्रभाव पार्नेछ। साथै, यस क्षेत्रका बासिन्दाले अझ सहज र प्रभावकारी रूपमा स्वास्थ्य सेवा पाउनेछन्। यो हाम्रो लामो समयदेखिको सपना साकार हुने चरणमा पुगेको छ।'

राकम कर्णालीमा रहेको यस अस्पताल करिब ९ लाख जनसंख्या ओगट्ने कर्णाली क्षेत्रको स्वास्थ्य सेवा विस्तारको प्रमुख आधार बन्ने अपेक्षा गरिएको छ। सरकारको यो निर्णयले दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न थप मद्दत पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया