सांसद थापाद्वारा बजेट कार्यान्वयनप्रति प्रश्न : 'फिर्ता बोलाउने प्रवृत्ति गलत'

सांसद थापाद्वारा बजेट कार्यान्वयनप्रति प्रश्न : 'फिर्ता बोलाउने प्रवृत्ति गलत'

काठमाडौँ –    प्रतिनिधि सभा सांसद अम्मर बहादुर थापाले सरकारको बजेट कार्यान्वयन प्रक्रियाप्रति गम्भीर प्रश्न उठाउनुभएको छ । मंगलबार संसदको शून्य समयमा बोल्दै सांसद थापाले सरकारले बजेट विनियोजन गरेर रातो किताबमा योजना समेट्ने तर कार्यान्वयन नगरी फिर्ता बोलाउने प्रवृत्ति अपनाएको आरोप लगाउनुभयो ।

उहाँले पूँजीगत बजेट खर्च नहुनुको मुख्य कारण रूपमा सरकारकै नीति र प्रक्रियालाई दोष दिनुभयो । 'बजेट खर्च हुनुपर्ने ठाउँमा सरकारले अनुमति नदिने, अनावश्यक रूपमा रोक्ने अनि अन्ततः फिर्ता गर्ने प्रवृत्ति हाबी भइरहेको छ। यस्तो कार्यले आगामी वर्षको बजेट व्यवस्थापनमा समस्या सिर्जना गरिरहेको छ,' उहाँले भन्नुभयो ।

सांसद थापाले जाजरकोट भूकम्प पीडितको अवस्था उठाउँदै राहत र पुनर्निर्माण प्रक्रियामा देखिएको ढिलासुस्तीप्रति गुनासो गर्नुभयो । 'भूकम्प गएको डेढ-दुई वर्ष भइसक्यो, तर अहिलेसम्म पहिलो किस्ता समेत पीडितहरूले प्राप्त गर्न सकेका छैनन्। यदि सरकारसँग बजेट अभाव छ भने जनतालाई पारदर्शी रूपमा जानकारी गराउनुपर्छ। तर, सुरुवातमा सबै आश्वासन दिने अनि अन्ततः केही उपलब्ध नगराउने प्रवृत्ति निन्दनीय छ,' उहाँले जोड दिनुभयो ।

उहाँले बजेट कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउन र ढिलासुस्ती हटाउन सरकारलाई तत्काल कदम चाल्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया