अख्तियार सचिव उपाध्यायलाई अर्थ सचिवको जिम्मेवारी

अख्तियार सचिव उपाध्यायलाई अर्थ सचिवको जिम्मेवारी

काठमाडौँ –  सरकारले अर्थ सचिवमा फेरबदल गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव डा. रामप्रसाद घिमिरेलाई सरुवा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवको जिम्मेवारी प्रदान गरेको छ।

सरकारले अर्थ मन्त्रालयको नेतृत्वमा परिवर्तन गर्दै उपाध्यायलाई यो महत्वपूर्ण जिम्मेवारी सुम्पेको हो। उपाध्यायलाई अब देशको आर्थिक नीति निर्माण, बजेट व्यवस्थापन, तथा राजस्व नीतिहरूलाई प्रभावकारी बनाउने जिम्मेवारी दिइएको छ।

यसअघि नै डा. घिमिरेको कार्यक्षमताका सम्बन्धमा विभिन्न चरणमा छलफल भइरहेको थियो । सरुवा गर्ने विषयमा लामो समयदेखि बहस चलिरहे पनि अन्ततः मन्त्रिपरिषद्ले उहाँलाई अन्यत्र जिम्मेवारी दिने निर्णय गरेको हो। प्रारम्भिक जानकारीअनुसार सम्भवत घिमिरेलाई राष्ट्रपति कार्यालयतिर सरुवा गरिनेछ भने राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवको रूपमा पठाइने सम्भावना छ।

नयाँ अर्थ सचिव उपाध्यायको अनुभव

घनश्याम उपाध्याय आर्थिक प्रशासनमा लामो अनुभव भएका प्रशासक हुनुहुन्छ । उहाँले कर्णाली प्रदेशको अर्थ सचिवको रूपमा एक वर्ष काम गरिसक्नुभएको छ । साथै, बागमती प्रदेशको प्रमुख सचिवका रूपमा एक वर्षको अनुभव समेटिसकेका छन्। त्यस्तै, उहाँले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा चार महिना सचिवका रूपमा तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सात महिना सचिवका रूपमा कार्य गर्नुभएको छ ।

उहाँले ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समेत सम्हालिसक्नुभएको छ । सरल स्वभावका तथा कार्यकुशल प्रशासकका रूपमा परिचित उपाध्यायको नेतृत्वमा अर्थ मन्त्रालयले चाल्ने आगामी कदमहरूबारे चासो बढेको छ।

अर्थतन्त्रमा सुधारको अपेक्षा

वर्तमान समयमा अर्थतन्त्रमा देखिएका चुनौतीहरूको सामना गर्दै समाधानका उपायहरू खोज्नु नयाँ अर्थ सचिव उपाध्यायका लागि प्रमुख प्राथमिकता रहनेछ। अर्थतन्त्रमा सुधार ल्याउन उहाँले अपनाउने नीति र रणनीतिहरूको प्रतीक्षा सबैलाई छ। सरकारको यो निर्णयले आर्थिक प्रशासनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

को हुन् उपाध्याय ?

अर्थ सचिवको जिम्मेवारी सम्हाल्नुभएका धनश्याम उपाध्याय दैलेख जिल्लाको नारायण नगरपालिकामा जन्मिनुभएको हो ।  उहाँ  निजामती सेवामा २०५४ सालमा नायब सुब्बा (नासु) बाट प्रवेश गर्नुभएको थियो । उहाँले जिल्ला सिँचाइ कार्यालय, बर्दियामा पाँच वर्ष सेवा गर्नुभएको थियो । २०५९ सालमा शाखा अधिकृत बनेपछि उहाँले आठ वर्ष अर्थ मन्त्रालयमा कार्यरत रहनुभयो । 

२०६८ सालमा उपसचिव हुनुभएका उपाध्याय राष्ट्रिय योजना आयोगको कार्यक्रम निर्देशकको रूपमा नियुक्त हुनुभयो । २०६९ चैत ६ गते खुला प्रतिस्पर्धाबाट सहसचिवमा पदोन्नति भएपछि उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलगायत विभिन्न निकायमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो ।

२०७९ भदौ २२ गतेदेखि काठमाडौँ जिल्ला प्रशासन कार्यालयको नेतृत्व समेत गरिसक्नुभएको छ । उहाँ यसअघि ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रूपमा कार्यरत रहनुभएको थियो । २०७८ असोज १ गतेदेखि २०७९ भदौसम्म एक वर्ष ललितपुरमा जिम्मेवारी सम्हालेपछि उहाँ काठमाडौँ सरुवा हुनुभएको थियो ।

उपाध्यायले ललितपुरभन्दा अघि सात महिना गृह मन्त्रालयमा सेवा गर्नुभएको थियो । उहाँले श्रम तथा रोजगार मन्त्रालयको सचिवको समेत जिम्मेवारी सम्हालिसक्नुभएको छ  त्यसअघि उहाँले कर्णाली प्रदेशमा एक वर्ष अर्थ सचिवको रूपमा जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँ २०७६ वैशाखदेखि चैतसम्म कर्णाली प्रदेशमा रहनुभएको थियो । पहिलो पटक प्रमुख जिल्ला अधिकारीका रूपमा ललितपुर पुगेका उपाध्याय काठमाडौँ प्रजिअ हुने कर्णालीका दोस्रो व्यक्ति समेत हुनुहुन्छ ।  कर्णालीबाट सिधै काठमाडौँको प्रमुख जिल्ला अधिकारी बन्ने अवसर गोविन्द रिजाललाई प्राप्त भएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सहसचिवका रूपमा रहँदा उपाध्यायले अफिस अटोमेसन प्रणालीको नेतृत्व गर्नुभएको थियो । पर्यटन मन्त्रालयमा कार्यरत रहँदा उहाँले फेक रेस्क्यू प्रकरणको छानबिनको संयोजन गर्नुभएको थियो, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चर्चा पायो।

ललितपुरको प्रमुख जिल्ला अधिकारी रहँदा उहाँले सेवा प्रवाह सुधार तथा विकास योजनाको प्रभावकारी कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । काठमाडौँको (प्रजिअ)को रूपमा कार्यभार सम्हालिसकेपछि उहाँले भौतिक पूर्वाधार सुधार, अभिलेख व्यवस्थापन तथा सेवा प्रवाहमा टायम कार्ड प्रणाली लागू गर्दै जनगुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउनुभएको थियो ।

उपाध्याय निजामती सेवामा निरन्तर चढ्दै आएको खुड्किला र प्राप्त अवसरलाई इमान्दारी, पारदर्शिता तथा सेवामुखी प्रशासनसँग जोड्ने प्रशासकका रूपमा परिचित हुनुहुन्छ । कर्णाली प्रदेशबाट नेपाल सरकारको पहिलो सचिव बन्न सफल उपाध्याय हाल अर्थ सचिवको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया