दुल्लुमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

– डम्बर विश्वकर्मा
दैलेख – दैलेखमा दुल्लु नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । दुल्लु नगरपालिका नगर कार्यपालिकाको कार्यालयअन्तर्गत नगर खेलकुद विकास समितिको आयोजनामा गत माघ २५ गतेदेखि सुरु भएको प्रतियोगिता आज एक औपचारिक समारोहबीच समापन गरिएको हो।
प्रतियोगिताको उद्घाटन प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने समापन समारोहमा दुल्लु नगरपालिकाका नगरप्रमुख भरत प्रसाद रिजाल प्रमुख अतिथि रहनुभएको थियो । नगरप्रमुख रिजालले प्रतियोगिताका विजयी विद्यालयहरू तथा खेलाडीहरूलाई नगद पुरस्कार, ट्रफी, प्रमाणपत्र र शिल्ड वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा विजया माध्यमिक विद्यालय, दुल्लु १० स्वर्ण, ४ रजत, र ३ कास्य पदकसहित प्रथम स्थान हासिल गर्न सफल भयो । सरस्वती माध्यामिक विद्यालय, विनायक ५ स्वर्ण, ४ रजत, र ३ कास्यसहित दोस्रो स्थानमा रह्यो भने जयदेवी माध्यामिक विद्यालय, छिउडिपुसाकोट र भानु माध्यामिक विद्यालय, तोराया समान ३ स्वर्ण, २ रजत, र १ कास्य पदकसहित तेस्रो स्थानमा रहे।
यस वर्षको रनिङ शिल्ड प्रतियोगितामा ३० वटा खेल समावेश गरिएका थिए । भलिबलतर्फ विजया माध्यामिक विद्यालय र माध्यामिक विद्यालय, लेखलगाउँ उत्कृष्ट विद्यालय घोषित भए भने अनुशासनतर्फ आधारभूत विद्यालय, रिजुपोखरा लाई ट्रफी तथा पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा दुल्लु नगरपालिकाका १५ माध्यमिक विद्यालय र ३ आधारभूत विद्यालय गरी १८ विद्यालयका ४६७ खेलाडी (छात्र– छात्रा) सहभागी भएका थिए।
समापन समारोह नगर खेलकुद विकास समिति अध्यक्ष उपेन्द्र कुमार शहा को सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, खेलाडी, पत्रकार, शिक्षक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
प्रतिक्रिया