सुर्खेतका तीनवटा विद्यालयमा 'विकमिङ वेभ' वेब स्क्रिनिङ क्याम्प सम्पन्न
लैंगिक समावेशिताका लागि चेतनामूलक स्क्रिनिङ क्याम्प : सहभागी

काठमाडौँ - सुर्खेतमा लैंगिक तथा यौनिक अल्पसंख्यक बालबालिका तथा युवाहरूको अधिकार संरक्षण र समावेशिता प्रवर्द्धन गर्ने उद्देश्यले ‘विकमिङ वेभ’ वेब सिरिजसम्बन्धी स्क्रिनिङ क्याम्प सम्म भएको छ ।
विरेन्द्रनगर नगरपालिकाका तीन विद्यालयमा सम्पन्न भएको हो । सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारीमा सञ्चालित यस कार्यक्रम अन्तर्गत विरेन्द्रनगर नगरपालिका वडा नम्बर १० को जनसेवा माध्यामिक विद्यालयमा माघ २९, नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यामिक विद्यालयमा माघ ३०, तथा भैरव माध्यामिक विद्यालयमा फागुन १ गते कार्यक्रम सम्पन्न भएको बताइएको छ ।
क्याम्पमा १५९ जना सहभागी भएका थिए, जसमा ७७ बालबालिका तथा शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका अध्यक्ष एवं पदाधिकारी गरी ८२ जना रहेको यौनिक तथा लैंङ्गिक अल्पसंख्यक बालबालिका र युवाहरुको अधिकार संरक्षण र समावेशिता प्रवद्र्धन सम्बन्धि परियोजना संयोजक प्रभा डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममार्फत ‘विकमिङ वेभ’ वेब सिरिज प्रदर्शन गरिएको थियो, जसमा लैंगिक पहिचान, यौन अभिमुखीकरण, प्रस्तुति र यौन विशेषता सम्बन्धी जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रममा संचालन भएपछि विद्यालय, समुदाय र परिवारमा चेतना अभिवृद्धि भई सामाजिक स्वीकृति बढेको सहभागीहरूले अनुभव भएको बताएका छन् । कार्यक्रममा सहभागी एक शिक्षकले भन्नुभयो, 'पहिले एउटा बालक जब केटीहरूको लाइनमा बस्न खोज्थे, म उनलाई जबरजस्ती केटाहरूको लाइनमा बस्न लगाउँथें। तर अहिले थाहा पाएको छु कि उनी आफ्नै लैंगिक पहिचानअनुसार प्रस्तुत भइरहेका थिए। यदि म यसबारे सचेत भएको भए, यस्तो गर्ने थिइनँ ।'
नेपाल राष्ट्रिय चन्द्रगङगा माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष घनश्याम कँडेलले भन्नुभयो, 'लैंगिक तथा यौनिक अल्पसंख्यकको विषय अझै पनि धेरैलाई थाहा छैन । विद्यालयका योजनामा समावेश गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी छ।'
त्यस्तै, भैरव माध्यामिक विद्यालयका प्रधानाध्यापक भक्तबहादुर जी.सी. ले विद्यालयमा हुने भेदभावकै कारण कतिपय विद्यार्थी जोखिममा पर्ने भएकाले उनीहरूलाई सहज वातावरण दिनुपर्ने आवश्यकता औंल्याउँनुभयो ।
जनसेवा माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक कृष्णबहादुर थापाले आफ्नो विद्यालयमा यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थीहरू रहेको र अभिभावकहरू चिन्तित हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, 'यस तालिमपछि परिवार र विद्यालयले उनीहरूलाई बुझ्न थालेका छन्। विद्यार्थीहरू आफ्नै पहिचानमा सहज हुन थालेका छन् ।'
त्यस्तै कार्यक्रममा सहभागि बाल क्लबका सदस्यहरूले पनि यस्तो विद्यार्थीहरूलाई समावेशी वातावरण प्रदान गर्नुपर्ने र चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
यो कार्यक्रम विरेन्द्रनगर नगरपालिकाका पाँच वडा तथा गुराँस गाउँपालिकाका आठ वडामा सञ्चालन भइरहेको संयोजक प्रभा डाँगीले बताउनुभयो । अघिल्लो वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यो अभियानले विद्यालय तथा समुदायमा समावेशी मानसिकता विकास गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको छ।
प्रतिक्रिया