तिलाद्वारा पक्की विद्यालयका भवन निर्माण

जुम्ला - जुम्लाको तिला गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा पालिकाभित्र चारवटा सामुदायिक विद्यालयका चारवटा पक्की विद्यालयको भवन निर्माण गरेको छ ।
सङ्घीय सरकारको विशेष अनुदान र सपपुरक अनुदानको तीन करोड ८० लाखमध्ये ठेक्काबाट एक करोड ८८ लाखमा यहाँको देउराली मावि जुम्लाकोटको ८ कोठे, ज्योति मावि रासाँमालापनीको पक्की भवन, देवी देउरालि आवि पुरुको ६ कोठे पक्कि भवन र सरस्वति मावि कुडारीको ८ कोठे पक्कि भवन निर्माण भएको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिनुभयो ।
यस्तै ग्रामिण सडक रारादेखि घोडे सुडि मानेचौर रासाँहुँदै कयरकोट सडक स्तरोउन्नती र तलिचौरदेखी लासिसम्म तटबन्धन निर्माण भएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो ।
पालिकाले आव २०८०/८१ को शुक्रबार गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आयव्ययको सार्वजनिक सुनुवाइ गरेको हो । पालिकाले आव २०८०/८१ मा ५१ करोड २४ लाख ३७ हजार ७९७ अनुमानित बजेट ल्याएको थियो । यसमा कूल बजेटको ८० दशमलव ०१ प्रतिशत खर्च गरेको छ ।
चालुतर्फ ९१ दशमलव ८८ प्रतिशत खर्च गरेको गाउँपालिकाले पूँजीगततर्फ ५८ दशमलव ०८ प्रतिशत खर्च भएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत जानकी हितानले प्रस्तुत गरेको वार्षिक सार्वजनिक सुनुवाइ प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै पालिकाले आव २०८०/८१ मा १८ लाख २६ हजार आन्तरिक राजस्व सङ्कलन गरेको जनाएको छ । गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हितानले बताउनुभयो ।
सङ्घीय विशेष, समपुरक अनुदान, प्रदेशको विशेष र समपुरक अनुदानबाट गाउँपालिकाद्वारा कार्यान्वयन भएका गौरबका योजना निर्माण भई सञ्चालनमा आएकाछन् ।
तीमध्ये गाउँपालिकाको प्रशासकीय भवन, तलिचौरदेखि लासिसम्म तटबन्धन निर्माण, कुडारी बजारदेखि डुङ्गि गाउँसम्म सडक स्तरोउन्नती, राँसादेखी नदैगुफा सडक निर्माण, दश शय्या अस्पताल निर्माणधिन अवस्था, रासाँदेखि पुरुहुँदै जुम्लाकोट मानेचौरसम्म सडक निर्माण, रारा खानेपानी योजना निर्माणधिन र वडा नं ५ को वडा कार्यालय निर्माण भएको गाउँपालिका अध्यक्ष रोकायाले जानकारी दिनुभयो ।
कार्यक्रमका सहभागीले गाउँपालिकाको विकासका लागी सानाभन्दा पनि ठुला योजनामा केन्द्रीत भएर लाग्न सुझाब दिएका छन । सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएका थिए ।
प्रतिक्रिया