व्यवसायिक तरकारी खेतीमा जम्दै चौधरी समुदायका महिला

बिहानी परियोजनाको योगदान : विषादीबाट जैविक कृषितर्फको रूपान्तरण

व्यवसायिक तरकारी खेतीमा जम्दै चौधरी समुदायका महिला

काठमाडौँ –  सुर्खेतको वीरेन्द्रनगर–२, नमुना टोलकी सुमना चौधरी । उमेरले ४५ वर्ष पुग्नुभयो, तर उहाँको जोश भने नव युवतीको जस्तै छ । बिहानको घामको झुल्कोसँगै सुमनाका पाइला बारीमा पर्छन । माटोको सुस्केरा सुन्दै, बिहानको शूर्यको किरणसँगै उहाँले करिब एक कट्ठा जग्गामा लगाएको तरकारी स्याहार्नुहुन्छ । तरकारी बारी सुम्सुम्याउने उहाँको जीवनशैली मात्र होइन, समृद्धिको बाटो पनि हो ।

सुमना वीरेन्द्रनगर वडा नम्बर – २ मा गठित नमुना उद्यमी महिला समूहकी सदस्य समेत रहनुभएकी टोलकै अगुवा कृषक समेत हुनुहुन्छ  । श्रीमान पशुपालनतर्फ लागेका छन् भने उहाँ कृषि कर्ममा लाग्नुभएको छ । सुमनाका श्रीमान लाल बहादुर चौधरीले बोइलर र बङ्गुर पालन गर्नुभएको छ भने सुमनाले घरको कामसँगै एक कट्ठा जग्गामा व्यवसायिक तरकारी खेती गर्दै आएको बताउनुहुन्छ  । म र श्रीमान दुबैजना व्यवसायिक कृषि तथा पशुपालन गर्दै आएका छौँ,’उहाँले भन्नुभयो, ‘श्रीमानले बङ्गुर बोइलर पालनमा हुनुहुन्छ भने मैले व्यवसायिक तरकारी खेती गर्छु । आवश्यक्ता अनुसार श्रीमान श्रीमती नै मिलेर काम गछौँ ।’

सुमना चौधरी र उहाँका श्रीमान् लालबहादुर चौधरीले १५ वर्षअगाडि कृषि कर्म थालनी गर्नुभएको थियो  । तर, सुरुवाती दिनहरू सहज थिएनन् । उत्पादन कम, लागत बढी, र बजारमा उचित मूल्य नपाइने समस्या थियो ।

प्राविधिक ज्ञान नहुँदा र विषादीको प्रयोग गर्दा माटोको उर्वराशक्ति पनि घट्दै गइरहेको थियो, जसले गर्दा कृषि कर्मप्रति निराशा बढ्दै गइरहेको थियो । तर, त्यो कुरा चौधरी दम्पतीलाई थाहा थिएन । रासायनिक विषादीको कमी पो भयो की भन्दै अझ बढी मात्रामा रासायनिक विषादी हाल्ने काम हुन्थ्यो तर, पनि उब्जनी राम्रो नभएको सुमना चौधरी सम्झिनुहुन्छ । कृषि प्राविधिक सम्बन्धी राम्रो ज्ञान नभएकी सुमनालाई जति रासायनिक विषादी प्रयोग गर्दा पनि उत्पादन बढ्दैन भन्ने जिज्ञासा लागिरहन्थ्यो । 

बिहानीले ल्याएको नयाँ आशा 

त्यही बेला, सुर्खेतमा बिहानी परियोजना सञ्चालनमा आयो । एइआइएन लक्जेम्बर्ग साझेदारीमा  सोसेक नेपालद्वारा बिहानी परियोजना संचालनमा आयो । परियोजना संचालन भएसँगै यस परियोजनाले कृषकहरूको जीवन परिवर्तन गर्न नमुना टोलमा उद्यमी कृषि महिला समूह गठन ग¥यो, जसमा सुमना चौधरी पनि सदस्य बन्नुभयो  । 

तालिमका क्रममा उहाँलाई मौसमी तथा बेमौसमी तरकारी खेती, जैविक मल बनाउने तरिका, झोल मलको प्रयोग, र सहज बजार व्यवस्थापन सम्बन्धी ज्ञान प्राप्त गरेको उहाँ बताउँनुहुन्छ ।

पहिले रासायनिक विषादीमा निर्भर रहँदै आएकी थिएँ,’ उहाँ भन्नुहुन्छ, ‘तालिमपछि जैविक झोल मल बनाउन सिकेँ ।  जसले माटोको उर्वराशक्ति बढाउनुका साथै उत्पादनमा दोब्बर वृद्धि हुने रहेछ  ।’

झोल मलको प्रयोगपछि उनले फलाएका तरकारीहरू झन् ठूलो, स्वस्थ, र आकर्षक हुन थाले । पहिले मुस्किलले १.५ केजीसम्म हुने काउली, अहिले ४ केजीसम्मको हुन थालेकोमा खुशी हुँदै सहयोगी संस्थालाई धन्यवाद दिनुभयो ।

 जैविक विषादीको प्रयोगसँगै अहिले रायो साग, मुला, सिमी, बन्दा, काउलीजस्ता तरकारीहरूको उत्पादन ह्वात्तै बढेको उहाँ सुनाउँनुहुन्छ । एकै सिजनमा उहाँले २० हजारभन्दा बढी आम्दानी गर्दै आएको बताउँनुहुन्छ  ।

तीन  क्विन्टल बन्दा बेचेर दश हजार पाँचसय, काउलीबाट नौ हजार, रायो सागबाट तीनहजार पाँचसय, र सिमीबाट एकहजार रुपैयाँ आम्दानी गरेको उहाँले सुनाउनुभयो  । मेहनत अनुसारको बजार मूल्य पाएत राम्रै हुन्थ्यो,’उहाँले भन्नुभयो, ‘कहिले बजार मूल्य राम्रो पाइँदैन त्यसबेला घाता व्यहोरेर बेच्नुपर्छ ।’

समुदायको रूपान्तरण

सुमनासँगै चौधरी समुदायका काली चौधरी, राधिका चौधरी लगायत अन्य कृषक महिलाहरूले पनि आधुनिक कृषि प्रणाली अपनाउँदै व्यवसायिक तरकारी खेती गर्दै आउनुभएको छ  । पहिला विषादी प्रयोग गर्दा पनि उत्पादन राम्रो नहुने गुनासो गर्ने उहाँहरू अहिले जैविक कृषि प्रणालीतर्फ उन्मुख छन ।  बारीमै झोल मल निर्माण गरेर विषादीको खर्च कटौती गर्दा आम्दानी अझै वृद्धि भएको राधिका चौधरीले बताउनुभयो ।

पहिले विषादी प्रयोग गर्दा उत्पादन राम्रो हुँदैन थियो,’राधिका भन्नुहुन्छ्, ‘अहिले जैविक जैविक कृषि मार्फत विषादी किन्ने पैसाको बचत गर्दै झोल मल प्रयोगले उत्पादनमा वृद्वि भएको छ ।’

पहिले रोग किरा लाग्दा समेत विषादीको प्रयोग गर्ने यहाँका कृषकहरु तालिम पश्चात् भने रासायनिक विषादीको साटो जैविक विषादी झोलमलको प्रयोग गर्दै आएको बताउँछन्  । ‘जैविक विषादी मानव र माटोको लागि राम्रो हुने रहेछ । तालिम पश्चात् हामीले थाह पायौँ रासायनिक विषादी मानव स्वास्थ्य र माटोको लागि हानिकरक  रहेछ,’ राधिकाले भन्नुभयो  । 

जैविक विषादी झोल मल १, २, ३ को प्रयोग गर्दा तरकारी पनि राम्रो फलेको छ,’ उहाँले भन्नुभयो, ‘पहिले तरकारी खासै राम्रो फल्दैन थियो अहिले झोल मल प्रयोग गर्दा एउटै काउली चार केजी सम्मको फल्यो ।’  
नमुना कृषि महिला समूहका सदस्यहरूले समूहमार्फत व्यवसायिक च्याउ खेती पनि थालेका छन ।  हाल पाँचसय डल्ला च्याउ उत्पादन भइरहेको छ । जसबाट आगामी तीन महिनाभित्र ३ लाख आम्दानी हुने अपेक्षा गरिएको बिहानी परियोजनामा कार्यरत कृषि प्राविधिक निशा सुनारले जानकारी दिनुभयो । उनका अनुसार १० वटा गडयौला बिन स्थापना गरेर जैविक मल निर्माणसमेत गरिँदै आएको छ ।

तरकारी र च्याउ खेतीबाट भएको आम्दानी अब परिवारको शिक्षादीक्षाका लागि खर्च गरिने सुमनाको योजना छ । उहाँ भन्नुहुन्छ, ‘पहिले कृषि छोड्नुपर्छ कि भन्ने लागेको थियो, तर बिहानी परियोजनाले आत्मनिर्भर बन्ने बाटो देखाइदियो । अब तरकारी खेतीमै निरन्तर लाग्नेछ ।’

च्याउ उत्पादनले समुदायलाई आत्मनिर्भर बनाउन सहयोग पु¥याउनुका साथै, दिगो कृषि प्रणालीको विकासमा समेत टेवा पुग्ने विश्वास छ । 

चौधरी समुदायका कृषक महिलाहरुले तरकारी खेतीबाट आएको पैसा समूहमा समेत जम्मा गर्दै आएका छन् । ‘जम्मा भएको आम्दानीलाई समूहमा संकलन गरी सामूहिक विकासका कार्यहरूमा लगानी गर्ने योजना छ । यसले महिलाहरूलाई थप सशक्त बनाउन सहयोग पुग्ने विश्वास छ’, समूहका सदस्य सुमनाले भन्नुभयो  । 

कृषि पेशमा समुदायको आत्मविश्वास बढ्नुमा एआईएन र सोसेक नेपालद्वारा सञ्चालित बिहानी परियोजनाको विशेष योगदान रहेको समूहका सदस्यहरु बताउँछन्  । समूहका सदस्य काली चौधरीले भन्नुभयो,  ‘यस परियोजनाले मेरो सीप, ज्ञान र क्षमतामा व्यापक सुधार ल्याएको छ । कृषि व्यवसायमा मात्र होइन, निर्णय क्षमतामा पनि म परिपक्व भएकी छु । म मात्र नभई हाम्रो चौधरी समुदाय नै प्रत्यक्ष रूपमा लाभान्वित भएको छ ।’
सुमना, राधिका र काली चौधरीले आगामी दिनहरूमा अझ प्रभावकारी रुपमा व्यवसायिक कृषि गर्ने योजनामा रहनुभएको छ ।  
 

प्रतिक्रिया