नागरिकता विधेयकमा लैंगिक तथा यौनिक अल्पसंख्यक र राउटे समेटिनुपर्छ : सांसद राना

काठमाडौँ - प्रतिनिधि सभा सदस्य सीता कुमारी रानाले नेपाल नागरिकता ऐन (दोस्रो संशोधन) विधेयक, २०८१ मा लैंगिक अल्पसंख्यक, पिछडिएका वर्ग तथा जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायलाई समेट्नुपर्ने बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभामा विधेयकमाथि छलफलका क्रममा उहाँले नेपालको संविधानले प्रत्याभूत गरेको नागरिकता प्राप्त गर्ने मौलिक हक सुनिश्चित भए पनि विभिन्न कानुनी र प्रक्रियागत जटिलताका कारण अझै धेरै नेपाली नागरिकताविहीन रहनुपरेको उल्लेख गर्नुभयो ।
रानाले नागरिकता ऐन, २०६३ को दोस्रो संशोधनका लागि संघीय संसदमा पेश गरिएको विधेयकलाई सकारात्मक रूपमा लिँदै भन्नुभयो, 'धेरै वर्षदेखि हामी नागरिकता सम्बन्धी समस्या समाधानको पर्खाइमा थियौँ । नागरिकता भएका नागरिकले नै राज्यका सेवा सुविधा पूर्ण रूपमा प्राप्त गर्न सकेका छैनन् भने, नागरिकता नपाएका व्यक्तिहरूको अवस्था झन् कस्तो होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।'
राष्ट्रिय जनगणना, २०७८ अनुसार १८ वर्षमुनिका ९८ लाख ६९ हजार ५८३ बालबालिका रहेका छन् । यस मध्य आमासँग मात्र रहेका १६ लाख ८८ हजार ८८६ (१७.१) प्रतिशत बालबालिकाहरु प्रस्तावित विधेयकबाट लाभान्वित हुने उहाँले उल्लेख गर्नुभयो ।
विधेयकका सकारात्मक पक्षहरूको प्रशंसा गर्दै उहाँले थप सुधारको आवश्यकता औंल्याउनुभयो । 'यस विधेयकमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका हकहरूलाई सुनिश्चित गरिनुपर्छ । त्यस्तै, पिछडिएका समुदाय तथा राउटे जातिलाई समेत समेट्नुपर्छ,' उहाँले भन्नुभयो ।
यसअघि पनि विभिन्न सांसदहरूले नागरिकता विधेयकको दायरालाई फराकिलो पार्दै समावेशी बनाउनुपर्ने माग राख्दै आएका छन्। संसदमा यस विषयमा थप छलफल हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया