दैलेखमा ११ वर्षीय बालकको विभत्स हत्या गरि गाडिएको अवस्थामा शव फेला

– डम्बर विश्वकर्मा
दैलेख – दैलेखमा एकजना बालकको गाडिएको अवस्थामा शव फेला परेको छ । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ५ भुवाटाकुरामा ११ वर्षीय बालक खेमराज दसुनीको शव गाडिएको अवस्थामा फेला परेको हो । बालक गत माघ २५ गतेदेखि घरबाट बेपत्ता भएका थिए, भने २०८१ फागुन ३ गते उनको शव गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
बालकको खोजीका लागि स्थानीयवासी र इलाका प्रहरी कार्यालय दुल्लु सक्रिय थिए । प्रारम्भिक अनुसन्धानका आधारमा सो घटनामा संलग्न भएको आशङ्कामा दुल्लु नगरपालिका वडा नम्बर ५ निवासी १८ वर्षीय विनोद रिजाल र १४ वर्षीय विशाल रिजाललाई पहिचान गरिएको दैलेख प्रहरीले जनाएको छ
मृतक खेमराज दसुनी विगत २÷३ महिनादेखि विनोद र विशालसँग विद्यालय जाने, संगै बस्ने र खाने गर्थे । उनको परिवारले ती किशोरहरूसँग संगत कम गर्न सल्लाह दिए पनि १४ वर्षीय विशाल रिजालले ‘मसँग साथी छैन, एक महिना बस्न देऊ’ भनी आग्रह गरेपछि मृतकका परिवारले विश्वास गरी उनीसँग बस्न दिएका थिए । तर, यही विश्वासले बालकको ज्यान लिएको मृतकका आमाले बताएकी छन् ।
प्रहरी अनुसन्धान अनुसार, बालकको हत्या अभियुक्तहरूकै घरमा गरि शव घर नजिकैको बारीको डिलमा गाडिएको थियो । घटनास्थलमा मृतककी आमाको तिलहरी समेत फेला परेपछि थप अनुसन्धान अघि बढाइएको छ । प्रारम्भिक अनुसन्धानले देखाएअनुसार अभियुक्तहरूले गाउँमा गरेका चोरीका घटनाहरू खुल्ने डरले बालकको हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ।
छोराको विभत्स हत्या भएपछि मृतकका आमाले आफ्नो छोरालाई न्याय दिन आग्रह गरेकी छन् । 'मेरो छोराको यस्तो अवस्थाबाट म निःशब्द छु । दोषीहरूलाई कडा भन्दा कडा सजाय मिलोस्।'
हाल घटनाको थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय दैलेखद्वारा जारी छ। दोषी जोसुकै भए पनि कानुन अनुसार कडा कारबाही गरिनुपर्ने स्थानीयवासी तथा पीडित परिवारको माग छ।
थ्यग कभलत
प्रतिक्रिया