'अभिभावकको विदेशिनुपर्ने बाध्यताले बालबालिका असुरक्षित, अपराध प्रवृत्ति बढ्दै'

दैलेखका विद्यालयहरूमा ‘विकृत तनाव’ को असर, सांसद रानाद्वारा सरकारको ध्यानाकर्षण

'अभिभावकको विदेशिनुपर्ने बाध्यताले बालबालिका असुरक्षित, अपराध प्रवृत्ति बढ्दै'

काठमाडौँ –    प्रतिनिधि सभा सदस्य सीता कुमारी रानाले रोजगारीका लागि अभिभावकहरू विदेशिनु पर्ने बाध्यताका कारण बालबालिकाहरू असुरक्षित बन्दै गएको र अपराधतर्फ उन्मुख भइरहेको विषयलाई संसद्मा उठाउनुभएको छ।

उहाँले दैलेख जिल्लाको दुल्लु नगरपालिका–५, रिजु पोखरामा ११ वर्षीय बालकको हत्या प्रकरणबारे संसद्मा उठाउँदै परिवार विखण्डनका कारण सामाजिक विकृति बढ्दै गएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।

भारतमा मजदुरी गर्न गएका बाबुआमाले एक्लै छाडेका १७ वर्षीय किशोर र उनका १४ वर्षीय भाइले आफूसँगै चोरीमा संलग्न गराएका ११ वर्षीय बालकको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। चोरीपछिको धनमाल बाँडफाँट नमिल्दा विवाद उत्पन्न भई हत्याको घटना भएको बताइएको छ।

सांसद रानाले परिवार विखण्डन, अभिभावकको अभाव, उचित मार्गदर्शनको कमी र असल वातावरणको अभावले बालबालिकाहरू असामाजिक क्रियाकलापमा संलग्न भइरहेको देखिन्छ, उहाँले भन्नुभयो, 'यदि सरकारले देशमै रोजगारी सिर्जना गर्न सकेन भने सामाजिक विकृति झन् विकराल रूप लिन सक्छ सरकारको ध्यानार्कषण गर्दछु  ।'

उहाँले यस्ता घटनाहरू दोहोरिन नदिन सरकारलाई तत्काल प्रभावकारी नीति ल्याउन आग्रह गर्नुभयो ।

त्यस्तै सांसद रानाले दैलेखको पश्चिमी क्षेत्र—आठविस नगरपालिका, भैरवी गाउँपालिका, र चामुण्डा वीन्द्रासैनी नगरपालिकाका विद्यालयहरूमा फैलिएको ‘विकृत तनाव’ भनिने मानसिक स्वास्थ्य समस्याप्रति पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।

गत दुई सातादेखि किशोरीहरू मात्र नभई किशोरहरू पनि बेहोस हुने समस्या देखिन थालेपछि विद्यालयहरूको पठनपाठन प्रभावित भएको छ। सामान्यतया किशोरीहरूमा मात्र देखिने भनिएको यो समस्या अहिले किशोरहरूमा समेत देखिन थालेपछि अभिभावक, शिक्षक तथा सरोकारवाला निकायहरू चिन्तित बनेका छन्।

शैक्षिक सत्रको अन्तिम समय र वार्षिक परीक्षा नजिकिँदै गर्दा विद्यार्थीहरूमा देखा परेको यो मानसिक स्वास्थ्य समस्या समाधानका लागि सांसद रानाले विद्यालयस्तरमै स्वास्थ्यकर्मी तथा मनोचिकित्सक परिचालन गर्न सरकारसँग माग गर्नुभएको छ। साथै, विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधारका लागि दीर्घकालीन नीति आवश्यक रहेको बताउँदै तत्काल आवश्यक कदम चाल्न उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया