भगवतीमाईमा तीनदिने क्षमता विकास तालिम सम्पन्न

भगवतीमाईमा तीनदिने क्षमता विकास तालिम सम्पन्न

दैलेख –   दैलेखको भगवतीमाई गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी तीनदिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।  गाउँपालिकाको वडा नम्बर – ३, मेहलतोलीमा बालमैत्री स्थानीय शासन सम्बन्धी तीनदिने क्षमता विकास तालिम सम्पन्न भएको हो । भगवतीमाई गाउँपालिकाको आयोजना सोसेक नेपालको सहजीकरण र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।

तालिममा बालमैत्री स्थानीय शासन समितिका पदाधिकारीहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण वासुदेव उपाध्याय र जनक अधिकारीले गरेका गर्नुभएको थियो भने सामाजिक विकास शाखाका प्रमुख विकास जिसीले तालिम सञ्चालनको नेतृत्व गर्नुभएको थियो।

तालिम अवधिमा बालमैत्री अवधारणा, बालमैत्री स्थानीय शासन कार्यान्वयन समितिको काम, कर्तव्य र अधिकार, बालमैत्री राष्ट्रिय रणनीतिक योजना, आचार संहिता, र बालमैत्री स्थानीय निकाय घोषणा कार्यविधिका ५१ वटा सूचकहरूको विस्तृत अध्ययन गरिएको थियो । सहभागीहरूलाई बालबालिकाको प्रोफाइल निर्माण, लगानी योजना तर्जुमा लगायतका विषयमा व्यावहारिक अभ्यास गराइएको थियो।

उक्त तालिमले गाउँपालिकाका बालबालिका मैत्री नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न, सरोकारवाला निकायहरूबीच समन्वय बढाउन, र बालबालिकाको हकहित प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको सोसेक नेपालका बाल संरक्षण अधिकृत  जनक प्रसाद अधिकारीले जानकारी दिनुभयो  ।

उहाँका अनुसार तालिम समापन कार्यक्रममा सहभागीहरूले बालमैत्री शासन प्रणालीलाई अझ सुदृढ बनाउन प्रतिवद्धता व्यक्त गरेका थिए। 

प्रतिक्रिया