पठनपाठनमा सुधार ल्याउन शिक्षकहरूका लागि तालिम संचालन

पठनपाठनमा सुधार ल्याउन शिक्षकहरूका लागि तालिम संचालन

दैलेख -  दैलेखको भगवतीमाई गाउँपालिकामा कक्षा १ देखि ३ सम्मका शिक्षकहरुका लागि पाँच दिने तालिम संचालन भएको छ । भगवतीमाई गाउँपालिकाको आयोजनामा, सोसेक नेपालको सहजीकरण र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा गाउँपालिका भित्रका कक्षा १ देखि ३ सम्मका शिक्षकहरूका लागि उक्त तालिम संचालन गरिएको हो । यो फागुन ११ गतेसम्म सञ्चालन हुनेछ ।

शिक्षा प्रणालीलाई प्रभावकारी बनाउन आयोजित सो तालिममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख मानबहादुर विश्वकर्मा, स्रोत व्यक्ति तेजबहादुर खड्का, चन्द्रप्रसाद जैसी तथा सोसेक नेपालका प्रतिनिधि वासुदेव उपाध्याय र सुमन रिजालले सहजीकरण गरेका गर्नुभएको थियो । तालिममा २५ जना शिक्षकहरूको सक्रिय सहभागिता रहेको छ । 

तालिमपछि शिक्षकहरूको अध्यापन शैलीमा सुधार आउनुका साथै मूल्याङ्कन प्रणालीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको सोसेक नेपालका बालसंरक्षण अधिकृत जनक प्रसाद अधिकारीले बताउनुभयो ।  उहाँका अनुसार विगतका वर्षहरूमा प्राप्त अनुभवअनुसार यस तालिमले पठनपाठन प्रविधिमा सुधार ल्याउने विश्वास गरिएको छ।

गाउँपालिकाका शिक्षासम्बन्धी नीति र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न शिक्षकहरूको क्षमता अभिवृद्धि गराउने उद्देश्यले तालिम आयोजना गरिएको अधिकारीले बताउनुभयो  । पाँच दिनसम्म सञ्चालन हुने तालिममा विषयवस्तुहरूलाई एकीकृत रूपमा प्रस्तुत गर्ने नयाँ प्रविधिहरू अपनाइएको प्रशिक्षकहरूले बताएका छन्।

प्रतिक्रिया