राडीपाखी बुनेर जीविकोपार्जन गर्दै मुगुका किसान

राडीपाखी बुनेर जीविकोपार्जन गर्दै मुगुका किसान

सुर्खेत –    मुगुको छायानाथ रारा नगरपालिका–११, रोवागाउँका जीतबहादुर बुढाले आफ्नै घरमा राडीपाखी बुनिरहनुभएको छ । राडीपाखी बेचेर घरखर्च टार्दै आएको उहाँले राससलाई टेलिफोनमा बताउनुभयो  ।

उद्यमी बुढा मात्र होइन रोवा गाउँका अन्य स्थानीयले पनि व्यावसायिक रूपमा भेडापालन गरी राडीपाखी उत्पादनमा गरिरहेका छन् ।  कृषिकर्मबाट मात्र हातमुख जोर्न  नपुगेपछि राडीपाखी व्यवसायमा उनीहरूको आकर्षण बढेको हो । भेडाको ऊनबाट कम्बल, फेरुवा, पाखी, बुनेर उनीहरुले जीविकोपार्जन गरिरहेका छन् । 

स्थानीय बजारमा कम्बल र पाखी रु तीन हजारदेखि तीन हजार ५०० र फेरुवाको रु चार हजारमा बिक्री हुन्छ । सिजनमा राडीपाखीबाट रु २० हजारसम्म कमाइ हुने उहाँको भनाइ छ । भेडाबाट ऊन निकालेर बुनाइ गर्दासम्म धेरै दुःख हुने गरे पनि आफ्नो कमाइप्रति सन्तुष्ट रहेको उहाँको भनाइ छ ।

नगरपालिकाको रोबा¥याङच्याकाटी गाउँका एक सय ६९ परिवारमध्ये अधिकांश परिवारको मुख्य पेसा पनि राडीपाखी व्यवसाय गरिरहेका छन्  । गाउँका महिलाले राडीपाखा बुन्छन् । पिना, मुन्दु, कोटिला गाउँका अधिकांश स्थानीय राडीपाखी बुनाइमा लागेको वर्षौं भइसक्यो । नगरपालिकाको लेकाली बस्तीमा भेडापालन व्यवसाय फस्टाउँदै गएको छ । भेडाको ऊनबाट स्थानीय पहिरन लिउ, फेरुवा, पाखो, कम्मललगायत सामग्री उत्पादन हुने गरेको छ ।

एउटा फेरुवा र कम्बल बनाउन १० दिनसम्म लाग्ने गरेको स्थानीयको भनाइ छ । राडीपाखी बेच्न गमगढी, नेपालगञ्ज र सुर्खेतसम्म पुग्ने गरेको थार्प गाउँका हीरालाल बोहोराले बताउनुभयो । अघिल्लो पुस्ता राडीपाखीको कमाइमै निर्भर छ । घरमा ४० देखि ५० वटा भेडा पाल्न सकिएको खण्डमा एक वर्ष १५ देखि २० वटा राडीपाखा उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । 

भेडाको ऊनबाट गलैँचा उत्पादनको लागि धेरै पटक जिल्ला घरेलु कार्यालयमा तालिम र मेसिनको माग गरे पनि सुनुवाइ नभएको उहाँको गुनासो छ । जिल्लामा रु पाँच हजार ५०० मा बिक्री हुने राडीपाखी सहरमा रु आठ हजारसम्ममा बेचिने गरेको छ । 

प्रतिक्रिया