खाडाचक्रमा बीउ वितरण तथा नर्सरी व्यवस्थापनसम्बन्धी तालिम

खाडाचक्रमा बीउ वितरण तथा नर्सरी व्यवस्थापनसम्बन्धी तालिम

कालिकोट - कालिकोटमा कृषि प्रवर्द्धनसम्बन्धी  कार्यक्रम गरिएको छ । एआईएन लक्जेम्बर्गको साझेदारी  खाडाचक्र नगरपालिकाको समन्वयमा, सोसेक नेपालद्वारा  सञ्चालित आधार परियोजनाको सहजीकरणमा कृषि प्रवर्द्धनसम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको हो ।

वडा नम्बर–७ की दलित महिला सदस्यको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा, महादेव महिला समूहका सदस्यहरूलाई नर्सरी बेड निर्माण, बेर्नामा लाग्ने रोग तथा किरा व्यवस्थापनका उपायहरूबारे आवश्यक ज्ञान प्रदान गरिएको आधार परियोजनाले जनाएको छ । साथै, बेर्ना तयार भएपछि उचित रूपमा सार्ने प्रविधि, स्वस्थ बिरुवा उत्पादनका उपाय तथा व्यावसायिक कृषि प्रवर्द्धनका विविध विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमको दौरान किसान तथा महिलाहरूलाई काक्रा, करेला, फर्सी, खुर्सानी, भान्टा, टमाटर, रायो, र सिमीको बीउ वितरण गरिएको छ। बीउ वितरण कार्यक्रमले स्थानीय कृषकहरूको उत्पादन क्षमतामा वृद्धि गर्ने विश्वास लिइएको छ।

सहभागीहरूले तालिमबाट आफूहरूलाई व्यावसायिक कृषि प्रवर्द्धनमा मद्दत पुग्ने भन्दै आयोजक संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए। परियोजना अन्तर्गत यस्ता कार्यक्रमले समुदायमा कृषि सशक्तीकरण तथा आत्मनिर्भरता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया