हरित रोजगारमा आधारित उद्यमशीलता विकास तालिम सम्पन्न

दैलेख – दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा हरित रोजगारमा आधारित 'उद्यमशीलता विकास' तालिम सम्पन्न भएको छ । २४ देखि ४० वर्ष उमेर समूहका युवायुवतिहरूका लागि हरित रोजगारमा आधारित 'उद्यमशीलता विकास तालिम' सम्पन्न भएको छ। चामुण्डाबिन्द्रासैनी नगरपालिकाको समन्वय, सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारीमा सञ्चालित सहयात्रा तेस्रो परियोजनाले सात दिने तालिम सम्पन्न गरेको हो।
तालिमको मुख्य उद्देश्य स्थानीयस्तरमै रोजगार सिर्जना गर्दै विपन्न समुदायका युवाहरूलाई स्वावलम्बी बनाउनु, आयआर्जनका माध्यमबाट महिला तथा बालबालिकाको जीवनस्तरमा सुधार ल्याउनु तथा आर्थिक समस्याबाट मुक्त गराउनु थियो । तालिमको समापन समारोहमा बोल्दै चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगरप्रमुख गणेश कुमार शाहीले तालिममा सिकिएका सीपलाई व्यवहारिक रूपमा प्रयोग गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो , 'व्यवसायले घरको आर्थिक अवस्था सुधार गर्न मद्दत गर्छ। समाजमा महिला तथा बालबालिका हिंसामा पर्ने मुख्य कारण आर्थिक पहुँचको अभाव हो। जब तपाईंहरू आर्थिक रूपमा सबल हुनुहुन्छ, यसले तपाईंहरूको जीवनस्तर सुधार गर्नका साथै आत्मनिर्भर बन्न पनि सहयोग गर्नेछ।'
नगरपालिकाले विपन्न समुदायका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको नगरप्रमुख शाहीले जानकारी गराउनुभयो । उहाँले दालमोठ, चाउमिन, सवारी चालक, खाना पकाउने, विद्युतीय उपकरण मर्मत जस्ता तालिम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । उपप्रमुख मनसरा शर्माले महिलाहरूले घरको आर्थिक जिम्मेवारी लिन नसक्दा उनीहरूको जीवनस्तर सुधार हुन नसकेको बताउनुभयो । 'अहिलेको खर्चको अनुपात हेर्दा अब एकजनाको कमाइले घर खर्च चलाउन कठिन भइसकेको छ। परिवारका सबै सदस्यहरू स्वावलम्बी नभएसम्म आर्थिक अवस्था मजबुत बनाउन असहज हुने भएकाले सबैले आ-आफ्नो व्यवसाय सञ्चालन गर्न आवश्यक छ,' उहाँले भन्नुभयो ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीका अनुसार हरेक व्यक्तिसँग केही न केही क्षमता भएकाले उनीहरूले सक्दो व्यवसाय सञ्चालन गर्नुपर्छ। उहाँले भन्नुभयो, ूमानिस सधैं सोच्ने र सिर्जना गर्ने प्राणी भएकाले उसले गरेको व्यवसाय व्यक्तिगत जीवनमा मात्र नभई समाज र राष्ट्रको समग्र आर्थिक वृद्धिमा समेत टेवा पुर्याउँछ। त्यसैले हरेक व्यक्ति व्यवसायमा संलग्न हुनुपर्छ।' उहाँले समुदायमा सीमित स्रोत साधनलाई अधिकतम उपयोग गर्दै आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए। 'हाम्रो परम्परागत कृषि प्रणाली गुजारामुखी भएकाले यसले जीवनस्तरमा सुधार ल्याउन सक्दैन। त्यसैले आधुनिक तथा व्यवसायिक कृषि प्रणाली अपनाउनुपर्छ,' उहाँले भन्नुभयो ।
तालिममा सहभागीहरूले सकारात्मक सोचको विकास भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बन्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सोसेक नेपालका कार्यक्रम व्यवस्थापक निर्मल अधिकारीका अनुसार हरित उद्यममा आधारित व्यवसाय सञ्चालनले दिगोपन ल्याउनुका साथै समुदायमा रोजगारी सिर्जना गर्नेछ। उहाँले भन्नुभयो, 'तालिमले जोखिममा रहेका बालबालिकाका परिवारहरूको आर्थिक सुदृढीकरणमा सहयोग गर्नेछ। जब परिवारको आर्थिक अवस्था मजबुत हुन्छ, बालबालिकाको शिक्षालगायत अन्य क्षेत्रमा लगानी बढ्न सक्छ।'
अधिकारीका अनुसार वातावरणमैत्री कृषि प्रविधिले जलवायु परिवर्तन न्यूनीकरणमा समेत योगदान दिन सक्छ। 'अब परम्परागत कृषि प्रणालीलाई विस्थापित गर्दै आधुनिक तथा जलवायुमैत्री कृषि प्रणाली अपनाउन आवश्यक छ, जसले परिवारको आर्थिक अवस्थासँगै समाजको समग्र विकासमा योगदान पुर्याउनेछ,' उहाँले भन्नुभयो ।
प्रतिक्रिया