देशभरिका रिजाल थरका धनञ्जय गोत्री वन्धुहरू दुल्लुमा भेला हुँदै

देशभरिका रिजाल थरका धनञ्जय गोत्री वन्धुहरू दुल्लुमा भेला हुँदै

दैलेख  –  यहि फागुन १४ गते दैलेखको दुल्लु नगरपालिका–५, रिजुमा रिजाल थरका धनञ्जय गोत्री वन्धुहरू भेला हुने भएका छन्।

रिजाल थरको आदिमभूमि तथा उद्गम स्थल रिजुमा नेपालकै चर्चित वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको संयोजकत्वमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो। कार्यक्रम अन्तर्गत विन्ध्यावासिनी माई भगवती मन्दिर परिसरमा धार्मिक अनुष्ठान, लक्ष्य दीप प्रज्वलनसहित ४५ फिट अग्लो त्रिशूल, करिब ४० किलोको घण्ट र सोहीअनुसारको गजुर रिजाल वन्धुहरूद्वारा मन्दिरमा अर्पण गरिनेछ। यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने छन्, जसमा पञ्चैबाजा नाच, झाँकीहरू, धमारी, झोडा, मागल, फट्को जस्ता सांस्कृतिक पहिचान झल्काउने प्रस्तुतीहरू समावेश हुनेछन्।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र प्रसाद रिजालले जानकारी दिएका छन्। वंशावलीअनुसार गढवाल, कुमाउँ, बैतडी, डोटी हुँदै अछाममा पहिलोपटक प्रवेश गरेका रिजाल वन्धुहरू पछि देशभरि २६ स्थानमा फैलिएको इतिहास रहेको छ। हाल यो संख्या देशभित्र मात्र नभई विदेशमा समेत उल्लेखनीय रूपमा वृद्धि भएको पाइन्छ । यस ऐतिहासिक पुण्यभूमि, पञ्चकोशी ज्वाला क्षेत्रसँगै रहेको विन्ध्यावासिनी माई भगवतीको परिसरमा संयुक्त रूपमा पूजापाठ गरिने बताइएको छ ।

विन्ध्यावासिनी क्षेत्र विकास समितिका अध्यक्ष उदयराज उपाध्यायका अनुसार, रिजाल थरको उद्गमस्थल रिजुमा देश तथा विदेशभरि छरिएर रहेका १ हजारभन्दा बढी रिजाल वन्धुहरू कार्यक्रममा सहभागी हुनेछन्।

प्रतिक्रिया