सोसेकको ‘स्कुल एट होम’ कार्यक्रमले दिएको नयाँ जीवन

काठमाडौँ – दैलेखको गुराँस गाउँपालिका–१ सिमेसालका सन्तोष सिंह खड्का जन्मजात शारीरिक रूपमा अशक्त हुनुहुन्छ । सन्तोषको एउटा हात र दुईवटा खुट्टा राम्रोसँग चल्दैनन् । पूर्ण रूपमा शरीर चलाउन नसक्ने सन्तोषको जीवन अरूको सहारामा बितिरहेको छ ।
यतिबेला सन्तोष आफ्नो घरमै बसेर अनलाइन तालिम संचालन गर्दै र भेस्टेज अनलाइन बिजनेसमा सक्रिय रूपमा लागिरहनुभएको छ । तर, यो सबै कुरा यति सहज भने थिएन । सन्तोषले आफ्नो जीवनबाट हार मान्दै आत्महत्याको बाटो रोज्ने योजना सम्ममा पुग्नुभएको थियो । त्यसै समयमा सन्तोषको जीवनमा नयाँ आशा बनेर आयो सोसेक नेपाल ।
सन्तोषको कथा सुरु हुन्छ बाल्यकालदेखि । जन्मजात शारीरिक अशक्तताले गर्दा जीवन सधैं अरूको सहारामा बित्यो । अन्तः सन्तोषले आफ्नो जीवनबाट हारको अवस्था सम्म पुगिसक्नुभएको थियो । तर, उहाँको जीवनमा नयाँ आशा लिएर स्थानीय विद्यालयका शिक्षक नगेन्द्र रिजाल । उहाँले सन्तोषको अवस्थाबारे सोसेक नेपाललाई जानकारी गराउनुभयो । सोसेक नेपालले तत्काल स्कुल एट होम कार्यक्रम अन्तर्गत सन्तोषलाई घरमै पढाउने व्यवस्था मिलायो । यसरी उहाँको औपचारिक शिक्षा घरबाटै सुरु भयो । सन्तोषले सोसेक नेपालको ग्रिन जब परियोजनाबाट तालिम पनि प्राप्त गर्नुभयोे । यसले उहाँलाई नयाँ जीवन दियो ।
सन्तोष अहिले अनलाइन बिजनेसमा संलग्न हुनुहुन्छ र मासिक २० देखि २५ हजार सम्म कमाउनुहुन्छ । ‘मैले जीवनबाट हार मानिसकेको थिएँ,’ उहाँ भन्नुहुन्छ, ‘तर, हिरासिंह सर र नगेन्द्र सर भगवान बनेर आउँनुभयो । आज म आफ्नै खुट्टामा उभिन सक्ने भएको छु । मेरा आँखा खुलेका छन् ।’
अहिले सन्तोष भेस्टेज अनलाइन व्यवसायमा आबद्ध छन्, जहाँबाट मासिक २०–२५ हजार रुपैयाँ कमाउदै आउनुभएको उहाँ बताउनुहुन्छ । घरमै बसेर प्रशिक्षकका रूपमा अनलाइन तालिम सञ्चालन गर्दै नयाँ पुस्तालाई हौसला समेत दिइरहेको उहाँ बताउनुहुन्छ ।
त्यस्तै दैलेखको भैरवी गाउँपालिका–४ का रोशन नेपालीको कथा पनि उत्तिकै हृदयस्पर्शी छ । ११ वर्षीय रोशन जन्मजात मेरुदण्डको समस्याबाट पीडित हुनुहुन्छ । उहाँको मेरुदण्डमा सानो फोका उठेको थियो जसले बिस्तारै ठूलो आकार लियो । यसले गर्दा उनी हालसम्म थला पर्नुभएको छ । रोशनका साथीहरू विद्यालय जान्छन् तर रोशनको विद्यालय जान सक्ने अवस्था नभएपछि ११ वर्षको उमेर सम्म घरमै बिताउनुभयो । रोशनका बाबु टेकेश नेपालीले रोशनको उपचारको लागि ऋण लिएर भारतसम्म पनि लिनुभयो तर, घरको आर्थिक अवस्था कम्जोर र आर्थिक अभावले गर्दा थप उपचार गराउन सक्ने अवस्था भएन । त्यसै बेला टेकेशको भेट सोसेक नेपालमा कार्यरत पार्वती थापासँग भयो । सोसेक नेपालले रोशनलाई घरमै पढाउने व्यवस्था मिलायो । अहिले रोशन घरमै शिक्षिकाको सहयोगमा औपचारिक शिक्षा पढिरहनुभएको छ ।
सन्तोष र रोशन दुवै सोसेक नेपालको स्कुल एट होम कार्यक्रमका प्रतिनिधि पात्र मात्रै हो । यो कार्यक्रमले शारीरिक रूपमा अशक्त भएका बालबालिकालाई घरमै पढाउने व्यवस्था गर्दै आएको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापा बताउँनुहुन्छ ।
थापाले भन्नुभयो, ‘हाम्रो लक्ष्य यस्ता बालबालिकालाई शिक्षाको मुख्य धारामा ल्याउनु हो । उनीहरूले पनि अरू जस्तै शिक्षा पाउन । पढ्नबाट बञ्चित नहुन भन्ने हाम्रो प्रयास छ ।’
सोसेक नेपालले हाल दैलेख जिल्लाका चारवटा स्थानीय तहमा हातेमालो परियोजना अन्तर्गत अपाङ्गता भएका बालबालिकाहरूको लागि काम गरिरहेको छ । यस परियोजनाले शारीरिक रूपमा अशक्त भएका बालबालिकालाई शिक्षा, स्वास्थ्य र आत्मनिर्भर बनाउने प्रशिक्षण दिने गर्दछ । सन्तोष र रोशन जस्ता धेरै बालबालिकाको जीवनमा यसले नयाँ आशाको किरण बनेको छ ।
सन्तोष र रोशन मात्र होइनन, उनीहरू जस्ता कैयौं बहु–अपांगता भएका बालबालिकाहरूका लागि सोसेक नेपालले ‘हातेमालो परियोजना’ सञ्चालन गरिरहेको छ । सिबिएम ग्लोबल नेपालको साझेदारीमा सञ्चालित यो परियोजना २०२४ देखि २०२७ सम्म कार्यान्वयन हुने सोसेकले जनाएको छ ।
सोसक नेपालद्वारा संचालित हातेमालो परियोजनाले नारायण नगरपालिका, दुल्लु नगरपालिका, भैरवी, गुराँस, र नौमुले गाउँपालिकाका शारीरिक अपांगता भएका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याइरहेको हातेमालो परियोजनामा कार्यरत हरिकला खड्काले बताउनुभयो । उहाँका अनुसार हालसम्म पाँच जना बालबालिकाले ‘स्कुल एट होम’ कार्यक्रमअन्तर्गत पढ्ने अवसर पाएका छन् ।
प्रतिक्रिया