नेपालमा सडक दुर्घटनाको भयावह अवस्थाबारे रानाद्वारा सरकारको ध्यानाकर्षण

नेपालमा सडक दुर्घटनाको भयावह अवस्थाबारे रानाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ  –    प्रतिनिधि सभा सदस्य सिता कुमारी रानाले नेपालमा सडक दुर्घटनाको बढ्दो समस्या र यसले निम्त्याएको जनधनको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आर्थिक वर्षको पहिलो छ महिनामा मात्रै ११,३३८ सडक दुर्घटना भएका छन्, जसमा १,२३३ जनाले ज्यान गुमाएका छन् । अघिल्लो वर्षको तुलनामा दुर्घटनाको संख्या केही कमी आए पनि मृत्यु हुनेको संख्यामा वृद्धि हुनु गम्भीर चिन्ताको विषय रहेको सांसद रानाले बताउनुभयो ।

गृह मन्त्रालयको प्रतिवेदनअनुसार, नेपालमा सडक दुर्घटना हुनुका प्रमुख कारणहरूमध्ये लापरवाहीपूर्ण सवारी सञ्चालन, गति सीमा उल्लङ्घन, मादक पदार्थ सेवन गरी सवारी हाँक्ने प्रवृत्ति, ट्राफिक नियमको अवज्ञा, सुरक्षात्मक उपकरण (हेलमेट, सिट बेल्ट) प्रयोग नगर्ने, जथाभावी ओभरटेक गर्ने तथा ट्राफिक संकेत पालना नगर्ने प्रवृत्ति रहेका छन् ।

 साथै, जीर्ण सडक संरचना, खाल्डाखुल्डी युक्त राजमार्ग, कमजोर संकेत व्यवस्थापन, असमान सडक स्तर, पुराना तथा असुरक्षित सवारीसाधन जस्ता भौतिक कारकहरूले पनि दुर्घटनाको जोखिम बढाइरहेको छ।

यसबाहेक पैदलयात्री स्वयं पनि ट्राफिक नियमको अवज्ञा गर्ने, जेब्राक्रसिङ प्रयोग नगर्ने तथा सचेतनाको कमीका कारण दुर्घटनामा पर्ने गरेको बताउनुभयो । 

सांसद रानाले नेपालमा बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि कडा ट्राफिक नियमको कार्यान्वयन, सवारीसाधनको सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्ने, ट्राफिक प्रविधिमा सुधार गर्ने र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार, निम्न उपायहरू तत्काल कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । 

ट्राफिक नियमको कडा कार्यान्वयन, स्मार्ट ट्राफिक व्यवस्थापन प्रणाली, सडक मर्मत तथा पुनर्निर्माण, सुरक्षासम्बन्धी प्रशिक्षण, जनचेतना अभिवृद्धि, गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । 

उहाँले सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै सडक दुर्घटनामा हुने मृत्यु न्यूनीकरणका लागि प्रभावकारी नीति निर्माण र त्यसको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आग्रह गर्नुभयो । उहाँका अनुसार, यदि समयमै ठोस कदम नचालिएमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति अझ भयावह हुने खतरा रहेको बताउनुभयो ।

प्रतिक्रिया