रिजालहरुको वंशावली पुस्तक विमोचन सहित धार्मिक अनुष्ठान कार्यक्रम सम्पन्न

रिजालहरुको वंशावली पुस्तक विमोचन सहित धार्मिक अनुष्ठान कार्यक्रम सम्पन्न

दुल्लु  -  नेपाल भरका रिजाल धमाला दैलेखको दुल्लु नगर पालिका रिजुपोखरामा भेला भएका छन् । रिजालथर धनन्जय गोत्री रिजाल वन्धुहरुले आफ्नो आदिमभूमि दैलेखको दुल्लु नगरपालिका वडा नं. ५ स्थित रिजुमा धार्मिक अनुष्ठान, ६ लाख लक्ष्य दीप प्रज्वलन, रिजाल वंशावली पुस्तक विमोचन, तथा वन्धु परिचयात्मक कार्यक्रम आयोजना गरेका छन्। यो कार्यक्रम शिवरात्रीको पवित्र अवसरमा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपालका चर्चित वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको सभापतित्वमा प्रदेश माननीय तथा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो । कार्यक्रममा पूर्व सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाल, संविधान सभासदस्य लक्ष्मी प्रसाद पोखरेल, तथा दुल्लु नगरपालिकाका प्रमुख भरत प्रसाद रिजालले विशेष अतिथिको रूपमा सहभागिता जनाउनुभएको थियो ।

रिजालथरी धनन्जय गोत्रीहरुको कुलदेवी विन्ध्यावासिनी माईभगवतीको मन्दिर परिसरमा धार्मिक अनुष्ठान तथा लक्ष्य दीप प्रज्वलन गरिएको थियो। यस अवसरमा रिजाल वन्धुहरुले मन्दिरमा ४५ फिट लामो त्रिशुल, करिब ४० किलोको घण्टी, र त्यसै अनुसारको गजुर चढाएका थिए।

कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले दैलेख जिल्ला र दुल्लुको धार्मिक, सांस्कृतिक, र जातीय पहिचानलाई अक्षुण्ण राख्न र यसको उचित विकास गर्न आफू लागिपरेको बताउनुभयो। उहाँले रिजाल समुदायले आफ्नो मौलिकता र सकारात्मक परम्पराहरु कायम राखेर अगाडि बढ्नुपर्ने आवश्यकता बताउनुभयो।

कार्यक्रमका संयोजक तथा सभापति डा. भोला रिजालले आफ्नो पुर्खाहरुको जन्मभूमिमा पाइला टेक्न पाउनु अहोभाग्यको विषय बताउँदै यस ऐतिहासिक क्षणमा उपस्थित हुन पाउनु आफ्नो लागि ठूलो खुशीको विषय रहेको बताउनुभयो। उहाँले देशभर र विदेशमा बसोबास गर्ने रिजाल समुदायलाई एकताबद्ध भई यस ऐतिहासिक स्थलको विकासमा सहयोग पुर्याउन आह्वान गर्नुभयो ।

दुल्लु नगरपालिकाका प्रमुख भरत प्रसाद रिजालले आफ्नो कार्यकालमा दुल्लुलाई ऐतिहासिक नगरको रूपमा विकास गर्ने लक्ष्य राखेको बताउँदै यस क्षेत्रका धार्मिक, सामाजिक, र जातीय पहिचानलाई संरक्षण गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो। 

वंशावली अनुसार रिजाल समुदाय गढवाल, कुमाउ, बैतडी, डोटी हुँदै अछाम पुगेको र त्यसपछि देशका २६ वटा स्थानमा फैलिएको थियो। हाल यो समुदाय नेपालका विभिन्न स्थान तथा विदेशमा पनि बसोबास गर्दै आएको छ। कार्यक्रममा विद्यावासिनी क्षेत्र विकास समितिका अध्यक्ष उदयराज उपाध्यायले यस विषयमा जानकारी दिनुभयो।

कार्यक्रममा धार्मिक अनुष्ठानका साथै पन्चैवाजा, नाच, झाकी, धमारी, झोडा, मागल, फट्को जस्ता सांस्कृतिक प्रस्तुतिहरुले कार्यक्रमलाई रंगीन बनाएको थियो। यसरी रिजाल समुदायले आफ्नो ऐतिहासिक, धार्मिक, र सांस्कृतिक विरासतलाई संजोँदै अगाडि बढ्ने संकल्प दोहोर्याएको छ।

प्रतिक्रिया