महिनावारी विभेद र बालविवाह न्यूनीकरण गर्न प्यानल छलफल संचालन

नौमुले - दैलेखको नौमुले गाउँपालिकाले मर्यादित महिनावारी, तथा बालविवाह न्यूनीकरणका लागि प्यानल छलफल कार्यक्रम संचालन गरेको छ। महिला सशक्तिकरण मञ्च नेपाल दैलेखको सहकार्यमा आयोजित उक्त कार्यक्रममा सरोकारवालाबीच प्रभावकारी छलफल गरिएको थियो ।
नौमुले गाउँपालिका क्षेत्रमा पछिल्लो समय बालविवाह, महिनावारी विेद र अन्य सामाजिक कुरीतिहरू कायमै रहेकाले ती समस्याको समाधान खोज्ने उद्देश्यले छलफल आयोजना गरिएको बताइएको छ । दलित, जनजाति र पिछडिएका समुदायको बहुलता रहेको यस गाउँपालिकामा अझै पनि अशिक्षा र अन्धविश्वासका कारण यस्ता कुरीति व्याप्त छन्। महिनावारीको समयमा घरमा बस्दा देवी–देवता रिसाउने भन्ने मान्यताले महिनावारी विभेलाई निरन्तरता दिएको छ भने सानै उमेरमा विवाह गर्ने प्रचलनका कारण बालबालिका विभिन्न सामाजिक र स्वास्थ्य समस्यामा परेको देखिएको बताइएको छ।
नौमुले गाउँपालिका अध्यक्ष छबिराम सुवेदीले विगतको तुलनामा बालविवाहलगायत कुरीति केही हदसम्म घटे पनि अपेक्षाअनुसार सुधार नआएको धारणा राख्नुभयो । “सचेतना कार्यक्रम, नीति निर्माण र कार्यान्वयनका प्रयास भइरहेका छन्, तर अझ प्रभावकारी अभियान आवश्यक छ,” अध्यक्ष सुवेदीले भन्नुभयो।
सोही अवसरमा गाउँपालिका उपाध्यक्ष गंगबहादुर शाहीले वालविवाह, वहुविवाह, छाउपडी र असुरक्षित महिनावारी जस्ता समस्याहरू अझै गम्भीर रहेको उल्लेख गर्दै, तिनको न्यूनीकरणका लागि गाउँपालिकाले विभिन्न अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो।
कार्यक्रममा नौमुले गाउँपालिका क्षेत्रका विभिन्न विद्यालयका बालबालिका, महिला समूहका प्रतिनिधि, किशोर–किशोरी समूहका सदस्य, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । छलफलको सहजीकरण पत्रकार विष्णु शर्माले गर्नुभएको थियो।
सहभागीहरूले गाउँमा विद्यमान सामाजिक कुरीति अन्त्य गर्न अझ व्यापक जनचेतना, विद्यालयस्तरीय अभियान, महिला सशक्तिकरण कार्यक्रम तथा कानूनी कार्यान्वयनलाई कडाइका साथ अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
प्रतिक्रिया