लैंगिक हिंसा न्यूनीकरण गर्न शिक्षकलाई वृहत यौनिकता शिक्षा तालिम

लैंगिक हिंसा न्यूनीकरण गर्न शिक्षकलाई वृहत यौनिकता शिक्षा तालिम

सुर्खेत -   कर्णाली प्रदेशमा लैंगिक हिंसा न्यूनीकरणका लागि विद्यालयस्तरमै यौनिकता र प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा सुदृढ गर्ने उद्देश्यले पाँच दिने वृहत यौनिकता शिक्षा तालिम सम्पन्न भएको छ।

मानव संशाधन विकास केन्द्र कर्णाली प्रदेशको समन्वय र सोसेक नेपालको आयोजनामा सम्पन्न तालिममा सुर्खेतसहित दैलेख, जाजरकोट, रुकुम पश्चिम र कालिकोट जिल्लाका शिक्षकहरूको सहभागिता रहेको थियो।

कर्णाली प्रदेश अझै पनि रोग, भोक र अशिक्षाका अतिरिक्त लैंगिक हिंसा, महिनावारीसँग जोडिएका अपूरणीय कुरीति, छाउपडी प्रथा र जातीय विभेदजस्ता सामाजिक विकृतिहरूबाट मुक्त हुन सकेको छैन। शिक्षित वर्गसमेत यौन र यौनिकता सम्बन्धी विषयमा खुलेर अभिव्यक्त हुन नहिच्किचाउने अवस्था नभएकाले विद्यालयस्तरमै गम्भीर सुधारको आवश्यकता महसुस गर्दै यस्तो तालिम सञ्चालन गरिएको सोसेक नेपालका मिल म्यानेजर पदमराज जोशीले जानकारी दिनुभयो।

जोशीका अनुसार, यस तालिममार्फत सहभागी शिक्षकहरूलाई किशोर–किशोरीमैत्री यौनिकता शिक्षा, प्रजनन स्वास्थ्य, यौनिक पहिचान, यौन अधिकार, लैंगिक समानता र हिंसा न्यूनीकरणका विषयमा व्यावहारिक र वैज्ञानिक ज्ञान प्रदान गरिएको छ। 'अब यौन शिक्षा र प्रजनन स्वास्थ्यलाई संकोच वा लाजको विषय बनाइने छैन, सहज वातावरणमा पाठ्यक्रम अनुसारको प्रभावकारी अध्यापन गर्ने वातावरण बन्दै गएको छ,' उहाँले भन्नुभयो।

तालिममा सहभागी शिक्षकहरूले विगतमा यस्ता विषयहरू पढाउँदा संकोच र सामाजिक संवेगका कारण सहज नभएको अनुभव सुनाउँदै अब तालिमपछि खुला रूपमा प्रभावकारी शिक्षा दिन सक्ने आत्मविश्वास जागेको प्रतिक्रिया दिएका छन्।

विगतमा पाठ्यपुस्तकमा सीमित र सैद्धान्तिक ज्ञान दिइएकोमा यौनिकता शिक्षा व्यवहारमा उतार्ने प्रयास सुरु हुनु कर्णालीका लागि सकारात्मक संकेत भएको सरोकारवालाहरूको भनाइ छ। साथै, विद्यालयस्तरबाटै किशोर–किशोरीमा यौनिकता र प्रजनन स्वास्थ्यबारे वैज्ञानिक र व्यवहारिक ज्ञान दिन सकिएमा लैंगिक हिंसा न्यूनीकरणमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

विशेषगरी, महिनावारी, छाउपडी, बालविवाह, यौन दुर्व्यवहारजस्ता संवेदनशील विषयमा वैज्ञानिक दृष्टिकोण राखी शिक्षालयबाटै सुरुवात गर्ने लक्ष्यसहित आगामी दिनमा यस्ता तालिमलाई निरन्तरता दिने योजना रहेको आयोजक संस्थाले जनाएको छ।

प्रतिक्रिया