राउटे महिलाहरूले पहिलोपटक मनाए अन्तर्राष्ट्रिय महिला दिवस

राउटे महिलाहरूले पहिलोपटक मनाए अन्तर्राष्ट्रिय महिला  दिवस

सुर्खेत (गिरीघाट) -   सुर्खेतको बराहताल गाउँपालिका–२ गिरीघाटमा रहेका राउटे महिलाहरूले पहिलोपटक ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएका छन । 

एइआइएन लक्जेम्बर्गको साझेदारी, गुराँस गाउँपालिकाको समन्वय तथा सोसेक नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा राउटे महिलाहरूले उत्साहपूर्वक पहिलोपटक  दिवस मनाएका हुन् । 
राउटे समुदाय परम्परागत रूपमा घुमन्ते जीवनशैली अपनाउने दक्षिण एसियाको एक मात्र घुमन्ते जाती हो  ।

 शिक्षा, स्वास्थ्य, आधुनिक चेतना तथा सामाजिक विकासका अवसरहरूमा सीमित रहेका कारण राउटे महिलाहरू अहिलेसम्म नारी दिवसबारे अनभिज्ञ थिएँ । यो पहिलोपटक हो, जब राउटे महिलाहरूले संगठित रूपमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन पाए । २४ वर्षीया गाजली शाहीले भन्नुभयो, ‘हामीलाई त महिला दिवस मनाउन रमाइलो नै लाग्यो । अझै परिवर्तन हुन चाहन्थ्यौँ, तर पुरानाले परिवर्तन हुन दिँदैनन। जब पुराना मान्छे समिएपछि हामी पनि परिवर्तन हुन्छौँ ।’

राउटे समुदायमा सामाजिक रूपान्तरणको प्रारम्भिक संकेत देखिएको स्थानीय शिक्षक लालबहादुर खत्री बताउँनुहुन्छ  । उहाँका अनुसार, पहिलोपटक महिला दिवस मनाइएको हुनाले धेरै महिलाहरूलाई दिवसको महत्तवबारे थाहा थिएन ।

४५ वर्षीया जीवना शाही नारी दिवसबारे जान्न उत्सुकता र जिज्ञासु भावमा उहाँले आयोजकहरूलाई प्रश्न गर्नुभयो – ‘नारी दिवस भनेको के हो ? किन मनाइन्छ ?’ यसले देखाउँछ कि राउटे समुदायमा महिलाहरू आफ्ना अधिकारबारे चासो राख्न थालेका छन । 

नरी दिवसको अवसरमा राउटे समुदायमा मनाइएको पहिलो महिला दिवसलाई विशेष बनाउन राउटे परियोजनाको सहकार्यमा विविध गतिविधिहरू सञ्चालन गरिएको थियो । 
कपाल बाँध्ने डोरी वितरण, महिला दिवसको सन्देश फैलाउन महिलाहरूले सजावटसहितका कार्डहरू बनाएका थिए ।
राउटे समुदायमा आयोजना गरीएको नारी दिवस कार्यक्रममा बोल्दै गुराँस गाउँपालिकाकी उपाध्यक्ष शिवा खड्काले राउटे महिलाहरु अन्य महिलाहरुझै समान भएको भन्दै उनीहरुले आफ्नो अधिकार बुझ्नुपर्ने बताउनुभयो  । उहाँले भन्नुभयो, ‘राउटे महिलाहरू पनि अरू महिलाझैँ समान हुन महिला दिवस अधिकार र हितको लागि हो। हामी सबै महिलाहरू बराबरी छौँ, समान हक र अवसर पाउनुपर्छ ।’

समुदायको व्यापक सहभागिता

राउटे बस्तीमा आयोजित यस विशेष कार्यक्रममा ४५ जना महिला सहभागी भए । यसबाहेक, समग्र समुदायको सहभागिता उल्लेखनीय रहेको राउटे समुदायमा कार्यरत जोडी शिक्षक लाल बहादुर खत्रीले जानकारी दिनुभयो । पहिलोपटक मनाइएको नारी दिवसले राउटे महिलाहरूलाई आफ्नो पहिचान, अधिकार र समानताको विषयमा सोच्न प्रेरित गरेको जोडी शिक्षक खत्रीले बताउनुभयो  । 

राउटे समुदायमा गरिएकोे यो एउटा सानो प्रयास भए पनि राउटे महिलाहरूलाई सामाजिक समावेशीकरणतर्फ ल्याउने दिशामा महत्वपूर्ण कदम सावित हुन सक्ने गुराँस गाउँपालिका अध्यक्ष टोप बहादुर बिसी बताउँनुहुन्छ  ।

सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले यस्ता सचेतनामूलक कार्यक्रमहरूले राउटे समुदायका महिलाहरूलाई शिक्षा, स्वास्थ्य, रोजगार र लैंगिक समानताबारे जानकारी गराउँदै क्रमशः उनीहरूको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो  । सुर्खेतको बराहताल गाउँपालिका वडानम्बर २ गिरीघाटमा बसेका राउटे समुदायका संख्या १३७ रहेको छ । 

प्रतिक्रिया