कर्णालीका गाउँ गाउँमा धुमधामसँग मनाइयो महिला दिवस

दैलेख - ‘सबै महिला तथा बालबालिकाका लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने नाराका साथ नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी आज ११५ औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइएको छ ।
देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । दिवसका अवसरमा दुल्लु नगरपालिकामा भव्य रूपमा सम्पन्न भएको छ । युनिसेफ र सिवियम नेपालको सहयोगमा, सोसेक नेपाल दैलेखद्वारा सञ्चालित हातेमालो परियोजनाको समन्वय तथा दुल्लु नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता दुल्लु नगरपालिकाका उप-प्रमुख बिना काकी रहनुभएको थियो भने नगरप्रमुख भरतप्रसाद रिजाल प्रमुख अतिथि रहनुभएको थियो ।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत तिलक बी.कको विशेष अतिथि रहेका थिए । कार्यक्रममा दुल्लु नगरपालिकाका १३ वटै वडाका जनप्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
महिला हिंसा र मनिनावारी विभेद विरुद्ध सचेतना
कार्यक्रममा नगर उपप्रमुख बिना कार्कीले महिलामाथि हिंसा तथा विभेदजन्य घटनाहरू अझै पनि रोकिएको छैन भन्दै महिलाहरूले आफ्नो अधिकारका लागि सचेत भई संगठित रूपमा अघि बढ्नुपर्ने आवश्यकता औँलयाउनुभयो । साथै, उहाँले चुपचाप सहेर बस्न नहुने र हरेक महिलाले आफ्नो हक र समानताको लागि संघर्ष गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
महिला हिंसा, छाउपडी समस्या र अपांगता सम्बन्धी लोक गीत तथा नृत्य प्रतियोगितामा ११ वटा विभिन्न आमा समूह, महिला समूह तथा स्वावलम्बन समूहहरूले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा तल्लो टोल आमा समूह (दुल्लु नगरपालिका–४) प्रथम, हरियाली आमा समूह (दुल्लु नगरपालिका–२) द्वितीय, देउती आमा समूह (दुल्लु नगरपालिका–४) तृतीय, तथा प्रगतिशील आमा समूह (दुल्लु नगरपालिका–५) ले सान्त्वना स्थान हासिल गरेका थिए। विजयी समूहहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको सोसेक नेपाल हातेमालो परियोजनाका वरिष्ठ सामाजिक सहजकर्ता मानवबहादुर थापाले जानकारी दिनुभयो ।
त्यस्तै सुर्खेतको चौकुने गाउँपालिकामा पनि अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । चौकुने गाउँपालिका–८ स्थित सिर्जनशील महिला सञ्जालको आयोजनामा, चौकुने–८ को आर्थिक सहयोगमा तथा सोसेक नेपाल, स्याक नेपाल, आवाज संस्था, नारी उत्थान बचत तथा ऋण सहकारी संस्था, कर्णाली जागरण केन्द्र, दलित महिला संघको समन्वयमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।
यस्तै, दैलेखको पश्चिम ठाटीकाँध गाउँपालिकामा पनि महिला दिवस मनाइएको छ । ठाटीकाँध गाउँपालिकाको आयोजनामा, सोसेक नेपालसहित विभिन्न संस्थाहरूको सहजीकरणमा आयोजित कार्यक्रमर्मा याली तथा देउडा गीत प्रतियोगिता समेत सञ्चालन गरिएको बताइएको छ।
‘सबै महिला तथा बालबालिकाका लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ खाडाचक्र नगरपालिकामा ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस भव्य रूपमा सम्पन्न भएको छ । सो अवसरमा विभिन्न वडाहरूमा देउडा प्रदर्शन कार्यक्रम तथा अपांगता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
कालिकोटको खाडाचक्रमा देउडा
नारी दिवसको अवसरमा खाडाचक्र नगरपालिका वडा नम्बर ५ र ६ ले सोसेक नेपालद्वारा सञ्चालित आधार परियोजनाको सहजीकरण, एइआइएन लक्जेम्बर्गको आर्थिक सहयोग तथा आइएनएफ नेपाल र इको हिमालको साझेदारीमा देउडा प्रदर्शन कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा वडा नम्बर ५ र ६ का महिला समूह सञ्जालअन्तर्गतका ९ वटा समूहले सहभागिता जनाएका थिए । प्रतियोगितामा एक विजयी देउडा टोलीलाई ७ थान धोती तथा बाँकी ९ टिमलाई ६३ पिस धोती वितरण गरिएको थियो । साथै, प्रोत्साहनस्वरूप प्रत्येक टोलीलाई नगद १ हजार प्रदान गरिएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, ज्येष्ठ नागरिक, बालबालिका तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता खाडाचक्र नगरपालिका वडा नम्बर ६ की महिला सञ्जाल अध्यक्ष श्रीमती रामपुरा शाहीले गर्नुभएको थियो ।
भैरवीमा अपांगता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण
११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अपांगता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
सोसेक नेपालको साझेदारीमा आधार परियोजना र हातेमालो परियोजना अन्तर्गत, भैरवी गाउँपालिकाले अपांगता भएका बालबालिका तथा बाल क्लबका सदस्यहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
उक्त कार्यक्रम भैरवी गाउँपालिका अध्यक्ष श्रीमती रिता कुमारी शाहीको अध्यक्षतामा सम्पन्न भएको हो।
प्रतिक्रिया