ठाटीकाँधमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न

ठाटीकाँध - दैलेखको ठाटीकाँध गाउँपालिकामा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ। एइआईएन लक्जेम्बर्गको साझेदारीमा सोसेक नेपालद्वारा सञ्चालित ‘सहकार्य परियोजना’ को समन्वय र ठाटीकाँध गाउँपालिकाको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो।
स्वास्थ्य परीक्षण शिविर ठाटीकाँध गाउँपालिका ३ स्थित विशाला स्वास्थ्य चौकीमा सम्पन्न भएको थियो। उक्त शिविर विशेष रूपमा महिलाहरूको प्रजनन स्वास्थ्य तथा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर पहिचानसम्बन्धी परीक्षणका लागि केन्द्रित थियो।
शिविरमा ११४ जना महिलाले स्वास्थ्य सेवा लिएका थिए। जसमध्ये ५६ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको थियो, जसमा सबैको अवस्था सामान्य रहेको थियो ।
त्यस्तै, ६ जना महिलामा पाठेघर खस्ने समस्या देखिएपछि तीन जनालाई ‘रिंग प्रेसरी’ राख्ने उपचार गरिएको तथा तीन जनालाई ‘किगल अभ्यास’ गर्न सिफारिस गरिएको थियो। साथै, ८२ जना महिलामा पाठेघर संक्रमण देखा परेपछि उनीहरूको आवश्यक स्वास्थ्य उपचार गरिएको थियो।
शिविरबाट ठाटीकाँध गाउँपालिका ३ का महिलाहरू मात्र नभई आसपासका क्षेत्रका सेवाग्राहीहरूले पनि प्रत्यक्ष लाभ लिएको अनमी तारा आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार यस प्रकारका स्वास्थ्य शिविरले विशेषगरी ग्रामीण भेगका महिलाहरूलाई प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी तथा उपचार सेवामा सहज पहुँच उपलब्ध गराउने विश्वास लिइएको छ।
प्रतिक्रिया