दशकदेखि अलपत्र दुल्लु–डुङ्गेश्वर सडक, ठेकेदार कम्पनी वेखबर

दशकदेखि अलपत्र दुल्लु–डुङ्गेश्वर सडक, ठेकेदार कम्पनी वेखबर

-  डम्बर विश्वकर्मा

दैलेख -   दैलेखको दुल्लु नगरपालिका–१, नाउले गाणापानीदेखि कर्णाली राजमार्गको तल्लो डुङ्गेश्वर (प्वाइन्ट) सम्मको करिब ६ किलोमिटर सडक कालोपत्रे गर्ने काम एक दशकदेखि अलपत्र परेको छ।

प्रदेश सरकारअन्तर्गत भौतिक योजना तथा निर्माण मन्त्रालयले आर्थिक वर्ष २०७२/०७३ मा ठेक्का आह्वान गरी २०७३ सालदेखि कालोपत्रे गर्ने कार्य प्रारम्भ भएको थियो।

उक्त ठेक्का सिद्धीशाही भारत जेभी कन्स्ट्रक्सन प्रालीले लिएको थियो, जसको ठेकेदार शेरबहादुर शाही थिए। तर, निर्माण कम्पनीले काम अधुरै छोडेपछि हालसम्म पनि सडक निर्माण पूरा हुन सकेको छैन।

सडक निर्माणको ठेक्का लिएको सिद्धीशाही भारत जेभी कन्स्ट्रक्सन प्राली यसबारे गुमनाम रहेको छ। अर्कोतर्फ, कर्णाली प्रदेश सरकारअन्तर्गत भौतिक योजना मन्त्रालय र मन्त्रालयका कर्मचारीहरूको निष्क्रियताका कारण ठेक्का रद्द गरी नयाँ प्रक्रिया अघि बढाउनसमेत नसकिएको छ। संघीय सरकार र कर्णाली प्रदेश सरकारले काम गराउने इच्छा देखाए पनि नगरपालिकाले यस कार्यमा हस्तक्षेप गर्न नसकेको दुल्लु नगरपालिकाका प्रमुख भरतप्रसाद रिजालले जानकारी दिनुभयो।

स्थानीयवासीहरूले दशकौंदेखि अधुरो सडक निर्माणका कारण ठूलो सास्ती खेप्नुपरेको गुनासो गरेका छन्। हिउँदमा धुलो उडेर घरभित्रै बस्न नसकिने अवस्था आउँछ भने वर्षामा सडक हिलोमय भई आवतजावतमा कठिनाइ हुन्छ। सवारी साधनले उडाएको धुलोका कारण रुघाखोकी तथा स्वासप्रश्वाससम्बन्धी समस्या समेत बढेको छ। अवस्था यति बिग्रिएको छ कि अब सडक छेउका बस्ती तथा घरहरू उठाउनु पर्ने स्थिति आउन लागेको स्थानीय हिरा सिंह खड्काले बताउनुभयो।

२०७८/०७९ को नयाँ ठेक्का प्रक्रियाअन्तर्गत अन्य निर्माण कम्पनीहरूले दुल्लु–१, नाउले मन्नादेखि दुल्लु बजारसम्मको सडक कालोपत्रे गरिसकेका छन्। तर, २०७३/०७४ मै सुरु गरिएको उक्त ६ किलोमिटर सडक खण्डमा काम अझै अपूरो छ। निर्माणका लागि ल्याइएका गिटी–बालुवाका थुप्राले सडक झन साँघुरो बनाएको छ, जसले दुर्घटनाको सम्भावना बढाएको स्थानीयवासीहरू बताउँछन्।

दुर्घटनाको उच्च जोखिम

यस सडक खण्डमा अहिलेसम्म एक दर्जनभन्दा बढी सवारी साधन दुर्घटनामा परिसकेका छन्। दैनिक करिब ५०० भन्दा बढी निजी तथा सरकारी सवारी साधनहरू यही सडक हुँदै दुल्लु, भैरवी, चामुण्डा, ठाटीकाँध, कुशापानी, र महावु गाउँपालिकाका विभिन्न वडाहरूमा आवतजावत गर्छन्।

सडक निर्माणमा ढिलाइ हुनुका पछाडि सरकारी निकायहरूको लापरबाही मात्र नभई सम्भावित कमिसनको खेल पनि हुन सक्ने स्थानीयवासीहरूको आशंका छ। वर्षा याम सुरु हुनुभन्दा अगावै निर्माण कार्य तत्काल पुनःसञ्चालन गर्न संघीय, प्रदेश, तथा स्थानीय सरकारलाई पहल गर्न स्थानीयवासी तथा सवारी चालक धिरेन्द्र थापाले आग्रह गर्नुभएको छ।

प्रतिक्रिया