जनतामावि बस्तेकोटको हरित नमुना विद्यालय अभियान
विद्यालयलाई हरियाली र आत्मनिर्भर बनाउन ‘एक विद्यार्थी, एक बोट’ वृक्षारोपण

काठमाडौँ - शिक्षालाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी, वातावरण संरक्षण र आत्मनिर्भर विद्यालयको परिकल्पनासहित जनता माध्यमिक विद्यालय, बस्तेकोटले हरित विद्यालयको अवधारणा अघि सारेको छ । हरित वातावरण प्रवद्र्धन गर्न र हरित नमुना विद्यालयका रुपमा विकास गर्ने उद्देश्यले चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ स्थित जनता माध्यमिक विद्यालय, बस्तेकोटमा ‘एक विद्यार्थी, एक शिक्षक, एक अभिभावक, एक बिउ–बोट’ अभियान सुरू गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिको मङ्सिर १५ गतेको निर्णयअनुसार सुरु गरिएको यो अभियानमा प्रत्येक विद्यार्थी, शिक्षक र अभिभावकले कम्तीमा एक वटा, बिउ वा बोट रोप्ने लक्ष्य राखिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जय बहादुर कार्कीले भन्नुभयो, ‘शिक्षा केवल किताबी ज्ञान हो भन्ने परम्परागत सोच हटाउँदै हामीले विद्यालयलाई आयमूलक बनाउने र विद्यार्थीलाई आयआर्जनसँग जोड्ने योजनामा लागेका छौँ ।’
बहुउपयोगी स्कुस खेती सँगै निर्यातको योजना
जनता माध्यामिक विद्यालयको यो अभियान कुनै साधारण वृक्षारोपण मात्र होइन । विद्यालय नजिकैबाट मध्यपहाडी लोकमार्ग भए पनि, यहाँका स्थानीय उत्पादनहरू बाहिर पठाउने भन्दा बढी बाहिरबाट सामान आयात गर्ने प्रवृत्ति देखेर अध्यक्ष कार्कीले विद्यालयबाटै निर्यातमुखी सोच विकास गर्नुपर्ने महसुस गर्नुभयो । सोही सोचअनुसार बहुउपयोगी स्कुस खेती योजना अगाडि सारिएको हो ।
कार्कीका अनुसार, विद्यालय परिसरका करिब पाँच सय मिटर क्षेत्रफलमा १० मिटरको फरकमा करिब २ हजार स्कुसका विरुवा रोप्ने लक्ष्य छ । तर, यस वर्ष स्कुसको बिउ र विरुवा पर्याप्त मात्रामा उपलब्ध नहुँदा करिब डेढ सय विरुवा मात्र रोपिएको छ । आगामी दिनमा विद्यालयमै उत्पादन गरिएको बिउबाट थप विरुवा रोप्ने योजना रहेको कार्कीले सुनाउनुभयो ।
जनता माध्यामिक विद्यालयलाई आयमूलक बनाउन र विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्कुसलाई विशेष जोड दिइएको छ भने अन्य विभिन्न जातका फलफूलका बिरुवामा रैंज, बाँज, बर, तेजपात, सागुन, धुपी, अम्लिसो, निगालो, बाँस जस्ता बिरुवा पनि रोपिएका छन ।
गत वर्षदेखि सुरु भएको वृक्षरोपणले विद्यालय वरपरको दृश्य नै बदलिन सुरु भएको छ । उत्पादन भएको स्कुसलाई विद्यालयकै दिवा खाजा कार्यक्रममा उपयोग गरिने छ भने बाँकी मध्यपहाडी लोकमार्ग हुँदै बाहिर निर्यात गर्ने योजना रहेको छ । स्कुसको मुन्टा, फल र जरा सबै उपयोग गर्न मिल्ने भएकाले यसलाई बहुउपयोगी र पोषणयुक्त तरकारीको रूपमा प्रवद्र्धन गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कार्की बताउँनुहुन्छ ।
नेपाली भान्सामा महत्वपूर्ण स्थान राख्ने स्कुस स्वादिलो, सुपाच्य र पोषिलो मात्र होइन, व्यावसायिक रूपमा पनि लाभदायक छ,’विव्यस अध्यक्ष कार्कीले भन्नुभयो, ‘हामीले विद्यार्थाीहरूलाई कृषि उत्पादन, आयआर्जन र उद्यमशीलतासँग जोड्ने लक्ष्य लिएका छौँ ।’
गिठा खेती र गुराँस रोप्ने योजना
विद्यालयले आगामी वर्ष ‘एक विद्यार्थी एक गुराँस, एक अभिभावक, एक गिठा’ अभियान सञ्चालन गर्ने योजना बनाएको छ । गिठा प्राकृतिक रूपमा पाइने, पोषिलो र व्यावसायिक सम्भावना बोकेको खाद्य वस्तु भएकाले गिठा लगाउने योजना रहेको छ ।
त्यस्तै, विद्यालयको पहिचानलाई थप मजबुत बनाउन ‘एक विद्यार्थी, एक लालीगुराँस’ अभियानसमेत सञ्चालन गरिने बताइएको छ । यस योजनाअन्तर्गत विद्यार्थी, शिक्षक र अभिभावक सहितले असार महिनाको पहिलो साता गुराँस रोप्ने योजना विद्यालयको रहेको छ ।
‘अहिले खाल्डा खन्ने काम सुरु गरेका छौँ । असारको पहिलो हप्तामा विद्यार्थी, शिक्षक र अभिभावकसँगै गुराँस रोप्छौँ,’ कार्कीले भन्नुहुन्छ ।
लालीगुराँसले विद्यालयको स्वभाव र सौन्दर्य दुवै बढाउने उनको विश्वास छ ।
विव्यसको सक्रियता
विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयबहादुर कार्की १४ वर्षसम्म यही विद्यालयमा शिक्षकका रुपमा कार्यरत हुनुहुन्थ्यो । शिक्षण छोडेपछि व्यवस्थापन समितिको अध्यक्ष बनेर फर्किएका उहाँले नयाँ जोश र जाँगर बोकेर पुग्नुभयो । ‘म शिक्षक हुँदा अभिभावकको सक्रियता कमै थियो । तर, अहिले हरेक महिना दुईपटक अभिभावक, शिक्षक र समितिको संयुक्त बैठक गछौँ । काउन्सिलिङ र समन्वयले सकारात्मक परिवर्तन आएको छ,’ उहाँ भन्नुहुन्छ ।
२०४० सालमा स्थापना भएको विद्यालयको मुहार फेरिँदैछ । करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयले हालसालै थप १० रोपनी जग्गा विस्तार गरेको छ । यहाँ ५६२ विद्यार्थी अध्ययन गर्छन, भने १७ शिक्षक कार्यरत छन । विद्यालय व्यवस्थापन समितिले चाहेमा स्कूलको मुहार फेर्न सक्छ,उहाँ भन्नुहुन्छ, ‘तर, धेरै ठाउँमा समिति ठेक्कापट्टाको थलो बनेको सुन्छु, देख्छु, तर, मचाहीँ विद्यालय व्यवस्थापन समिति भनेको व्यवस्थापकीय जिम्मेवारी निभाउने व्यवस्थापन र विद्यालय परिवर्तनको संवाहक हो ।’
विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा विद्यालयलाई हरित नमुना विद्यालय बनाउने अभियान तीव्र रूपमा अगाडि बढिरहेको छ ।
विद्यालयको यो अभियानलाई कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी को मार्गदर्शन र गैरसरकारी संस्था सोसेक नेपालद्वारा चामुण्डाबिन्द्रासैनी नगरपालिकामा सञ्चालित सहयात्रा तेस्रो परियोजनाको सहकार्य समेत प्राप्त भएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
विद्यालयले हरित वातावरण, कृषि उत्पादन र आयआर्जनलाई एकैसाथ अघि बढाएर यहाँका अन्य विद्यालयभन्दा जनता माध्यामिक विद्यालयलाई अझ पृथक बनाउन लागिपरेको सायक प्रधानाध्यापक दिपेन्द्र नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ हाम्रो विद्यालयको भूगोल पनि धेरै छ, र सोही अनुसार विभिन्न विरुवाको वृक्षारोपण गर्दै अन्य विद्यालयभन्दा पृथक बनाउने प्रयास गरिरहेका छौँ ।’
प्रतिक्रिया