ठाटीकाँध गाउँपालिकामा नि:शुल्क स्वास्थ्य परीक्षण शिविर

ठाटीकाँध गाउँपालिकामा नि:शुल्क स्वास्थ्य परीक्षण शिविर

ठाटीकाँध -   दैलेखको ठाटीकाँध गाउँपालिकामा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। ठाटिकाँध गाउँपालिका स्वास्थ्य शाखाको आयोजना सोसेक नेपालको सहकार्यमा गाउँपालिकाको वडा नम्बर  ३, ४, र ५ का विभिन्न स्थानहरूमा शिविर सञ्चालन गरिएको हो ।

शिविरको मुख्य उद्देश्य महिलाहरूको प्रजनन् स्वास्थ्य समस्या पहिचान गर्दै पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तन क्यान्सर परीक्षण, गर्भावस्थासम्बन्धी जाँच तथा अन्य विविध स्वास्थ्य समस्या निदान गर्नु रहेको ठाटीकाँध गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रविन्द्र  भण्डारीले जानकारी दिनुभयो  । 

दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा सहज उपलब्ध नहुँदा महिलाहरू पाठेघरको क्यान्सर, स्तन क्यान्सर तथा अन्य स्त्रीरोगका कारण अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्छ,उहाँले भन्नुभयो,  'साथै, सामाजिक अज्ञानताका कारण लाजले रोग लुकाउने प्रवृत्ति व्यापक रहेको पाइन्छ। यस्ता समस्यालाई न्यूनीकरण गर्न र स्वास्थ्य चेतना अभिवृद्धि गर्न शिविरको आयोजनालाई नियमित बनाएका छौँ ।'

शिविरमा महिलाहरूका सम्पूर्ण स्वास्थ्य परीक्षण गरी उपचार सम्भव भए शिविरमै गरिन्छ भने गम्भीर अवस्थामा रहेका बिरामीहरूलाई जिल्ला अस्पताल दैलेख वा सुर्खेत अस्पतालमा थप उपचारका लागि सिफारिस गरिन्छ। शिविरमा प्राथमिक स्वास्थ्य केन्द्र ठाटिकाँधका डाक्टर तथा स्वास्थ्यकर्मीहरूको विशेष टोली परिचालन गरिएको भण्डारीले बताउनुभयो ।

गाउँपालिकाको भौगोलिक विकटतालाई मध्यनजर गर्दै शिविरलाई बस्तीस्तरमै सञ्चालन गर्ने योजना रहेको छ, जसले स्वास्थ्य सेवामा पहुँच नपुगेका महिलाहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया